हेटौंडामा असोज २१ गते दौड प्रतियोगिता हुने
![](https://www.tukhabar.com/wp-content/uploads/2021/10/htd-e1633254086513.jpg)
मकवानपुर । हेटौंडा उपमहानगरपालिका र नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा दौड (रन) प्रतियोगिता हुने भएको छ । बिजया दशमी २०७८ को अवसरमा आगामी असोज २१ गते घटस्थापनाको दिन दौड प्रतियोगिता हुने भएको हो । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले सो कुरा बारे जानकारी गराएका हुन् ।
उनका अनुसार, प्रतियोगिता हेटौंडाको बुद्धचोकबाट सुरु भएर कान्तिराजपथ हुँदै हेटौंडा–५ स्थित क्याम्पाडाँडा पुगेर पुनः सोही बाटो बुद्धचोकमा आएर समापन हुनेछ । यसअघि हेटौंडा–४ स्थित लोकतान्त्रिक हुप्रचौरबाट प्रतियोगिता सुरु गर्ने तयारी भएपनि हेटौंडाको बुद्धचोकमा हुन भएको हो । प्रतियोगितामा सहभागी धावकहरुले कुल ६६ किलोमिटर दौडनुपर्ने उनले बताए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ७ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको उद्घाटनका साथै समापन कार्यक्रम पनि सोही दिन बुद्धचोकमै आयोजना भएर पुरस्कार वितरण गरिने जनाइएको छ । उक्त प्रतियोगिताको लागि कुल रु २ लाख रुपैयाँ खर्त लाग्ने खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा सहभागी हुनको लागि हेटौंडा उपमहानगरपालिकाबाट निःशुल्क फर्म वितरण हुनेछ ।