गोरेलाई जन्मकैदको सजाय, पूर्वडिआइजी निरौलासहित ४८ जनाले पाए सफाइ

तु खबर संवाददाता
२०७८ आश्विन १९,मंगलवार १८:०३

काठमाडौँ । साढे ३३ किलो सुन तस्करी प्रकरणमा गोरे भनिने चुडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय हुने भएको छ । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ । सो प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका हुन् ।

त्यस्तै पूर्वडिआइजी गोविन्दप्रसाद निरौलासहित ४८ जनाले सफाई पाएका छन् । उनीसहित सो प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका हुन् । जिल्ला अदालत, मोरङले मंगलबार हत्या ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका ८ जनालाई मात्रै दोषी ठहर गरेको छ । यो प्रकरणमा फरार रहेका २१ जनाको मुद्दा चाहिँ मुल्तबीमा राखिएको जिल्ला अदालत मोरङ्ले जनाएको छ ।

सफाइ पाउनेहरुमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् । त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।

२०७४ साल माघको अन्तिमसाता दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भएको थियो । घटनालाई लुकाउन भूमिका खेलेको भन्दै प्रहरीमाथि समेत आरोप थियो । यो प्रकरणमा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पनि आरोपित थिए । घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको समिति बनाएको थियो ।