हेटौंडामा सार्वजनिक यातायात केन्द्रिय महासंघको धर्ना
मकवानपुर । सार्वजनिक यातायात व्यवसायीहरुले बागमती प्रदेशको राजधानी हेटौंडामा भाडा समायोजनको माग गर्दै भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरमा धर्ना दिएका छन् । सार्वजनिक यातायात केन्द्रिय महासंघले भाडादर समायोजन तथा यातायातको समग्र समस्या समाधान गराउन उच्च स्तरीय आयोग/प्राधिकरण तत्काल गठन गर्न माग गर्दै भौतिक मन्त्रालयमा धर्ना बसेको हो ।
महासंघका केन्द्रिय उपाध्यक्ष कान्छाराम थिङका अनुसार, महासंघका वरिष्ठ उपाध्यक्ष हेमन्त शेरचनको नेतृत्वमा हेटौंडा–१ चौकीटोलस्थित बागमती प्रदेश, भौतिक पूर्वाधार मन्त्रालयमा धर्नामा बसेको हो । प्रदेशको स्थानीय तह तथा छोटो रुटमा चल्ने सवारीसाधनकोे भाडादर प्रदेशले समायोजन नगर्दा व्यवसायीहरु धर्नामा बसेका हुन् ।
संघीय सरकारले अन्तर प्रदेश चल्ने सवारीको भाडादर २८ प्रतिशतले वृद्धि गरेको छ । बागमती प्रदेश सरकारले भाडा समायोजन गर्ने भनिएपनि हालसम्म समायोजन नगरेपछि धर्ना बसेको महासंघले जनाएको छ । बागमती प्रदेश सरकारले भाडा समायोजनको लागि गठन गरेको समितिको अध्ययन प्रतिवेदन विश्लेषण गरेर मात्रै भाडादर निर्धारण गर्ने जनाएको छ ।