प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

तु खबर संवाददाता
२०७८ कार्तिक ७,आईतवार ०९:४४
file-photo

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदैछन् । प्रदेशसभाको गत शुक्रबार बसेको बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आज (आइतबार्र मतदान हुने लागेको हो । मुख्यमन्त्री आचार्यले पेस गरेको उक्त प्रस्तावमाथि आज दिउँसो १२ः ३० बने बस्ने बैठकमा छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया सुरु हुनेछ ।

गत शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने यसअघि नै दलहरुबीच सहमति भएको थियो । आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा भने २५ असोजमै दर्ता भएको थियो ।

प्रदेश नं. १ मा हाल नेकपा एमालेका ४१, नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १/१ सांसद छन् । उक्त प्रदेशमा विपक्षी गठबन्धले ५० मतसहित नयाँ सरकार निर्माणको तयारीमा रहेका छन् । गठबन्धनको केन्द्रीय तहको सहमति अनुसार प्रदेश १ नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ । समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दैछन् ।