प्रदेश नं. १ : प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

तु खबर संवाददाता
२०७८ कार्तिक ७,आईतवार १५:१२
file-photo

काठमाडौं । प्रदेश नं. १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो । जारी सूचनामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरिएअनुसार बैठक स्थगित गरिएको उल्लेख गरेको छ ।

मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा पेश गरेको विश्वासको मतसमबन्धी प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने आइतबारको बैठकको कार्यसूची रहेको थियो । तर, विश्वासको मत दिने बेलामा आफ्ना केही सांसदहरुले फ्लोर क्रस गर्ने संकेत पाएपछि कांग्रेसले आजको बैठक रोक्न माग गरेको थियो । यस्तै, एमालेले पनि पार्टीको पालिका अधिवेशन र पार्टीका कमिटी बैठकहरु भएकाले कात्तिक १५ गतेसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुखलाई निवेदन दिएको थियो ।

आचार्य भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश नं. १ मा हाल नेकपा एमालेका ४१, नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १/१ सांसद छन् । उक्त प्रदेशमा विपक्षी गठबन्धले ५० मतसहित नयाँ सरकार निर्माणको तयारीमा रहेका छन् ।