भागबण्डामा फेरियो मन्त्रालयः खनाललाई आन्तरिक मामिला, मोक्तानलाई सामाजिक विकास

तु खबर संवाददाता
२०७८ कार्तिक ११,बिहीबार १४:४६

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा माओवादी र कांग्रेस सरकारमा जाँदैछ । गठबन्धनले संसदीय दलको उपनेतालाई मन्त्री बनाउने तयारी गरेको छ । भर्खरै सम्पन्न गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्र संसदीय दलको उपनेता कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय र नेकपा एकीकृत समाजवादी संसदीय दलको उपनेता कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय दिने गरी भागबण्डा मिलाएको छ ।

यसअघि खनाललाई सामाजिक विकास मन्त्रालय र मोक्तालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको भएपनि भागबण्डा मिलाउन मन्त्रालय फेरबदल गरिएको हो । ‘बिहानसम्म मलाई सामाजिक विकास मन्त्रालयमा नै पठाउने कुरा भएको थियो । तर, मेरो इच्छा आन्तरिक मामिला तथा कानून मन्त्रालय जाने थियो । म एकपटक समाजिक विकासमन्त्री भइसकेकोले फेरी सोही मन्त्रालयमा के जानु भन्ने थियो । जे होस्, मेरो इच्छा अनुसार नै भयो ।’ खनालले भने । त्यस्तै मोक्तानले पनि आफ्नो इच्छा अनुसार नै सामाजिक विकास मन्त्रालयको आफु मन्त्री हुन लागेको बताइन् । कांग्रेस संसदीय दलका उपनेता भँडेललाई भने भौतिक पूर्वाधार विकास मन्त्रालयकै जिम्मेवारी दिने तयारी गरिएको बताइएको छ ।