मुख्यमन्त्री आचार्यको छिनोफानो आज
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज (सोमबार) विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री आचार्यले आज अपराह्न १२ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका अनुसार, बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको हो ।
प्रदेश नं. १ मा हाल ९२ जना प्रदेशसभाका सदस्यहरु रहेका छन् । विश्वासको मत पाउनको लागि ४७ जना प्रदेशसभा सदस्यहरुको समर्थन आवश्यक पर्दछ । सत्तापक्षमा सभामुखसहित ४१ जना रहेका छन् भने प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद रहेका छन् । गत भदौ १० गते मुख्यमन्त्री पदमा नियुक्त भएका आचार्यले कात्तिक ७ गते विश्वासको मत लिने तयारी भएपनि कँंग्रेसभित्रको किचलोका कारण बैठक आजसम्मका लागि सरेको थियो ।
गठबन्धनले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले बताए । मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने सम्भावना नरहेकाले गठबन्धनले राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने यसअघि नै निर्णय गरिसकेको छ । आचार्यले विश्वासको मत नपाए वा राजीनामा दिएको अवस्थामा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आहृवान गर्नेछन् । आहृवानपछि गठबन्धनले राईको नाम अघि सार्ने निर्णय गरेको थियो ।