प्रधान सेनापती शर्माले भोलि ऐतिहासिक चिसापानीगढीको संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास गर्ने
मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्वर– ६ स्थित ऐतिहासिक चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणको काममा गाउँपालिकाले सक्रियता बढाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० र भीमफेदी गाउँपालिकाको ३० प्रतिशत लगानीमा ऐतिहासिक चिसापानीगढी संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको काम अघि बढाइएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिएका छन् ।
प्रधान सेनापती प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा भोलि कात्तिक १७ गते विशेष समारोहकाबीच सो आयोजना निर्माणको शिलान्यास गरिने उनले जानकारी दिए । कूल २८ करोडको गुरुयोजनासहित अघि बढाइएको उक्त आयोजनाको लागि चालु आर्थिक बर्षमा ५ करोड रुपैयाँ विनियोजन गरिसकिएको छ । निर्माण व्यवसायी कम्पनी अनक/माउन्टेन/गोले जेभीसंग गएको कात्तिक ७ गते ३ करोड ७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको गाउँपालिकाका योजना प्रमुख बद्री सापकोटाले जानकारी दिए ।
चालु आर्थिक बर्षमा बास्तुकलायुक्त प्रवेशद्वारा तथा चिसापानीगढी क्षेत्रको करिब ४ बिगाह क्षेत्रफलमा कम्पाउण्ड वाल निर्माण, आकर्षक नेपालको नक्सा निर्माण, सो क्षेत्रमा रहेको इनार पुनःनिर्माण तथा संरक्षण र सरसफाइको काम सम्पन्न गरिने र २ बर्ष भित्रमा अन्य निर्माण तथा संरक्षणका कामहरु सम्पन्न गरिने सापकोटाले बताए ।
शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिलगायतको उपस्थिति रहने गाउँपालिकाको कार्यालयले जनाएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडाबाट करिब २९ किलोमिटर उत्तरमा पर्ने चिसापानी गढी अहिले जीर्ण अवस्थामा छ । मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीभन्दा केहीमाथि र देउराली डाँडाको मुनिपट्टि अवस्थित गढीमा अझै पनि त्यतिबेला युद्धमा प्रयोग भएको तोपको अवशेष रहेको छ । चिसापानीमा बटुक भैरवको मन्दिर पनि रहेको छ ।
सो क्षेत्रमा प्रशस्त पर्यटनको सम्भावना भएका कारण त्यसको विकास, प्रर्वद्धन र प्रचारप्रसारका लागि पालिकाले पर्यटन गुरुयोजना तयार गरेको छ । उक्त कार्यले राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा ऐतिहासिक चिसापानीगढीमा पर्यटकलाई आकर्षण गर्न सहयोग पुग्ने पालिकाले विश्वास लिएको छ ।
तत्कालीन राजकीय परिवेशमा सुरक्षा जाँच चौकी, राहदानी चेकपोष्ट तथा सामरिक महत्वको चिसापानी गढी, त्यहाँ रहेको बटुक भैरव मन्दिर र कालीतोपको छुट्टै पहिचान छ । उक्त गढीमा आफ्नो भयानक गर्जन र भारतको रक्सौलसम्म मारकक्षमता रहेको कालीतोप, यत्रतत्र छरिएर रहेका कार्तुस तथा गोलाहरुले अवलोकनकर्तालाई तत्कालिन समयको परिकल्पना गराउन मद्धत पुर्याउँछ ।
चन्द्रागिरि, कुलेखानी, भीमफेदी, हेटौंडा, वीरगञ्ज, रक्सौल जाने एकमात्र बाटो यही रहेकाले र देशभित्र शत्रुहरुको घुसपैठ नहोस् भन्नका लागि तत्कालिन समयमा बडाहाकिममार्फत् चेक र अनुमतिपत्र लिएरमात्र काठमाडौं प्रवेश गर्न पाइने गरेको जानकारहरु बताउँछन् । विकट स्थानमा रहेको किल्लामा बस्ने नेपाली फौजका लागि पर्याप्त पानीको सुविधा होस् भन्नका लागि इनार खनिएको थियो, जुन अहिले पनि छ ।
चिसापानीगढी किल्लाको निर्माण वैज्ञानिक छ । किल्लाभित्रबाट पानी र थप हतियार ल्याउन सुरुङ तयार गरिएको छ । सुरुङमा भर्याङ खुड्किला बनाउँदा सहज हुन्छ भन्ने सोचिएको देखिन्छ । भीमफेदी पुरानो बस्ती भएको क्षेत्र हो । ऐतिहासिक चिसापानी गढीमा परापूर्वकालमा काठमाडौं उपत्यका जानका लागि भिसा लगाउने काम हुन्थ्यो । चिसापानी गढीमा रहेको कालीतोप, बडाहाकिमको घरलाई जस्ताको तस्तै राखेर संरक्षणको प्रयास थालिने अध्यक्ष लामाले बताए ।