हेटौंडामा तीन दिने विज्ञान लेखन तालिम सुरु

तु खबर संवाददाता
२०७८ कार्तिक २८,आईतवार १६:१९

मकवानपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनामा आइतबारबाट हेटौंडामा पत्रकारको लागि विज्ञान लेखन तालिम सुरु भएको छ । ३ दिन सम्म संचालन हुने तालिममा मकवानपुरका २२ जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिममा वरिष्ठ पत्रकार केदार शर्मा र नास्टका सचिव प्रा.डा. महेशकुमार अधिकारीले प्रशिक्षण गर्ने छन् ।

पत्रकारहरुलाई विज्ञानसंग सम्बन्धित विषयको समाचारलाई तथ्यपूर्ण बनाउन र भाषा छनोटमा सहयोग पुर्याउने उदेश्यका साथ तालिमको आयोजना गरिएको नाष्टले जनाएको छ । नास्टका सचिव अधिकारीको सभाध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा आइतबार तालिमको औपचारिक उद्घाटन गरिएको हो ।

सो अवसरमा प्रमुख अतिथि महतले पत्रकारहरुलाई पेशाप्रति थप प्रतिवद्ध बनाउन यस्ता तालिमहरुले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे । पत्रकार राष्ट्रको गहना भएको बताउँदै मेयर महतले इमान्दारिताका साथ स्वच्छ, निश्पक्ष एवम् तत्थ्यपूर्ण समाचार सम्प्रेषण गर्ने कार्यमा पत्रकार सदैव क्रियाशील रहनुपर्ने बताए ।

त्यस्तै विशेष अतिथि नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलालले विगतमा यस्ता किसिमका तालिमहरु केन्द्रीय राजधानीमा मात्रै केन्द्रीत रहने गरेको भन्दै नाष्टले जिल्लास्तरसम्म पत्रकारहरुको लागि उपयोगी तालिमको आयोजना गरेकोमा आभार व्यक्त गरे । पत्रकारहरुले पनि तालिममा सक्रियतापूर्वक सहभागिता जनाई आफ्नो क्षमता अभिवृद्धि गर्न उनले सुझाव दिए ।