पशुपतिनाथका विद्यार्थीलाई शैक्षिक सामग्री

तु खबर संवाददाता
२०७८ कार्तिक २८,आईतवार १७:१३

मकवानपुर । काठमाडौं गोदावरीकी एक जना विद्यार्थीले आफ्नो जन्मदिनको अवसरमा पशुपतिनाथ माविमा अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेकी छिन् । गोदावरीकी स्थायी बासिन्दा प्रजिता घिमिरेले आफ्नो जन्नदिनको अवसर पारेर एक हजार थान कपी, पेन्सिल, डटपेनलगायत शैक्षिक सामग्री प्रदान गरेकी हुन् ।

प्रजिताको आमाले बाल्यकालमा अध्ययन गरेको पशुपतिनाथ माविलाई सहयोग गर्न उनीहरु मनहरी गाउँपालिका आएका हुन् । विद्यालयका एक सय ९० जना बालबालिकालाई जनही ५ थान कपी, सोही बराबरको पेन्सिल र डटपेन वितरण गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले जानकारी दिए ।

मनहरी–४ का वडाध्यक्ष ध्रुब खड्काको प्रमुख आतिथ्यतामा बालबालिकालाई शैक्षिक सामग्री बितरण गरिएको हो । विदालय ब्यवस्थापन समितिका अध्यक्ष गौतमले जन्मदिनमा केक काटेर अनावश्यक खर्च गर्ने परम्परालाई तोड्दै विपन्न बालबालिकालाई सहयोग गरेको भन्दै प्रजिता र उनको परिवारलाई धन्यबाद दिएका थिए । आगामी दिनमा पनि यस प्रकारको सहयोगलाई निरन्तरता दिन विद्यालय परिबारले अपेक्षा गरेको छ ।

केहीदिन अघि मनहरी–४ का वडासचिव बिदुर पाठकले आफ्नो जन्मदिनको अवसरमा विद्यालयका ३ जना बालबालिकालाई १० हजार रुपैयाँ सहयोग गरेको थिए । विद्यालयले जन्मदिनमा गर्ने खर्च कटौती गरी विद्यालयको कोषमा रकम जम्मा गर्न पनि सुरु गरेको अध्यक्ष गौतमले जानकारी दिएका छन् । हालसम्म कोषमा २५ हजार रुपैयाँ जम्मा भइसकेको छ ।