सांसद्संग दुखेसो गर्दै मकवानपुरका बनकरिया

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–४ मुसेधापमा रहेको बनकरिया बस्तीमा बागमती प्रदेशका मुख्यमन्त्री, राज्यमन्त्रीदेखि सांसदहरुसम्म पुगेका छन् । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद् सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको सहयोगमा नागरिकसंग सांसद विषयक अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरुले उनीहरुको समस्या बुझेका हुन् ।
खुल्लाचौरमा गरिएको अन्तरक्रियामा बनकरियाहरुले वषौंदेखिको जंगली जीवन छोडेर पछी बस्दै आएको जमिनको लापलपुर्जा पाउनुपर्ने, गाउँमा विद्यालय, खानेपानी, सडकको उचित व्यवस्था गर्न माग गरेका छन् । यता प्रदेशसभाका सदस्यहरुले वनकरियाको समस्या समाधान गर्न तीनै तहका सरकारलाई दवाव दिने बताएका छन् । जनताको पहुँचमा सांसदहरुलाई अझै पहुँच योग्य बनाउनका लागि यो कार्यक्रम वनकरिया बस्तीमा गरिएको हो । संसदीय र राज्यका मामिलामा संलग्न हुनु र जानकारी पाउनु नागरिकको अधिकार भएकाले नागरिकसंग प्रत्यक्ष संवाद कार्यक्रम राखिएको जनाइएको छ ।
बनकरियाका कारण मकवानपुर चिनिएको छ– पूर्व मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले वनकरियाका कारण मकवानपुरको चिनारी भएको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो बस्तीलाई व्यवस्थित बनाउनका लागि आफुहरुले तीनै तहका सरकारलाई दवाब दिने बताए । वनकरिया समुदायले पनि लालपूर्जा पाउने चरणमापुग्दा भूमि आयोगनै खारेज भएको भन्दै आपत्ति जनाए ।
यो बस्ती नजिक विद्यालय नहुँदा समस्या भएकोले विद्यालय खोल्नुपर्नेमा जोड दिदै पौडेलले भने ‘स्कुल खोल्न हामी लाग्छौं । अहिले यस समुदायका बालबालिकालाई जतिसम्म पढ्ने हो त्यती सम्म निशुल्क हुनुपर्छ । अझै विद्यालय स्तरमा पढ्नका लागि त शुल्क लाग्दैन । कसैले लगायो भने गाउँपालिकाले पढ्ने वातावरण तयार पार्छ ।’
बनकरिया हौं भनेर हिनताबोध नगरौं– निवर्तमान राज्यमन्त्री श्रेष्ठ
बागमती प्रदेशका निवर्तमान सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले आफुले आफुलाई बनकरिया हौं भनेर हिनताबोध नगरिकन काम गर्नका लागि आग्रह गरेकी छिन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भनिन् ‘यो समुदायको विकास गर्न हामी लाग्छौं । अब तपाइहरु र हामी सबै एउटै हौं त्यसैले कुनैपनि काममा अग्रसर भएर लागौं ।’ यस समुदायको विकासका लागि स्थानीय सरकार र प्रदेश सरकार मिलेर काम गरिने बताइन् ।
बनकरियाका समस्या बुझन गाउँमै आएका हौं– प्रदेशसभाका सदस्य चेपाङ
बागमती प्रदेशसभाका सदस्य सन्त चेपाङले बनकरियाका समस्याहरु बुझ्नैका लागि आफुहरु गाउँमै आएको बताएका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सिमान्तकृत लोपन्मुख समुदायको समस्या बुझेर त्यही अनुसार काम गरिने बताए । यस बस्तीमा सरकारले ध्यान दिनुपर्ने उनले बताए ।
आत्मनिर्भर बन्न लागौं–प्रदेशसभाका सदस्य ग्लान
बागमती प्रदेशका प्रदेशसभाका सदस्य ओमबहादुर ग्लानले बनकरियाहरु पनि अब आत्म निर्भर बन्नका लागि लाग्नुपर्ने बताएका छन् । जीवन जीउनकै लागि संघर्ष गरिने बताउँदै उनले भने–‘आफै आत्मनिर्भर बन्नका लागि सोचौं तपाइहरुले छिट्टै जग्गाको पूर्जा प्राप्त गर्नुहोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु ।’ यही बस्ती व्यवस्थित गर्नका लागि आफुहरुले सहयोग गर्ने उनले बताए । नागरिकले भनेको जस्तो कानून तत्काल वनाउन नसक्दा समस्या भएको बताए ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले यहाँको बस्तीलाई स्थायी गराउनका लागि संघीय सरकारसंग पहल भइरहेको बताए । मनहरीमा ८ सय परिवार सुकुम्वासी रहेको बताए । कार्यक्रममा मनहरी–४ का वडा अध्यक्ष धुर्ब खड्काले यस बस्तीका लागि सबै सांसदले ध्यान दिनुपर्ने बताए । मनहरी–४ का वडा सदस्य बिष्णु चेपाङले बिद्यालय टाढा हुँदा ठुलो समस्या भोग्नुपरेको बताए । जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईले सांसदहरुले समुदायमै गएर छलफल गर्दा स्थानीयहरुका समस्या नजिकबाट जानकारी पाउने र सरकारलाई दवाव दिन सहज हुने बताए ।
कार्यक्रममा आफ्ना गाउँको समस्या पोख्दै स्थानीय सन्तोष बनकरियाले बर्षौँदेखि जग्गाको उपभोग गर्दै आएको भएपनि आफ्नो नाममा नहुँदा समस्या भएको बताए । आफुहरुलाई काम गर्नका लागि कुनै अपठेरो नभएको बताउँदै उनले भने ‘जग्गा छ । खेती गर्दै आएका छौं । तरकारी पनि लगाएका छौं । तर, बारम्बार वन कार्यालयले बस्ती हटाउन लाग्दा हामी समस्यामा पर्ने गरेका छौं । बर्षायाममा बाढी आएर भाग्नुपर्ने बाध्यता उस्तै छ ।’
स्थानीय ठुलिमायाँ बनकरियाले आफुहरु पहिले जंगलका वडारमा बसेको भएपनि अहिलेको पुस्तालाई यही वस्ने वातावरण मिलाउनका लागि सांसदसंग माग गरिन् । तत्काल बिरामी हुँदा एम्बुुलेन्स आउन सक्ने सडक नहुँदा समस्या परेको उनले दुखेसो पोखिन् । स्थानीय बुद्धराम प्रजाले यस क्षेत्रका हरेक घरधुरीका लागि सरकारले हेर्नुपर्ने बताए । सरकारले यो बस्तीबाट हटाउन खोज्ने भन्दा पनि स्थायी रुपमा बसोवास गराउनुपर्ने स्थानीय कान्छीमायाँ बनकरियाले बताइन् ।