प्रधानन्यायाधीशको राजीनामा माग्दै हेटौंडामा प्रदर्शन
मकवानपुर । मकवानपुर जिल्ला अदालत बार एसोसिएसन र उच्च अदालत पाटन हेटौंडा बारले अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ । आइतबारबाट उच्च अदालत पाटन हेटौंडा बार एसोसिएसन र जिल्ला अदालत बार एसोसिएसन मकवानपुरले संयुक्त रुपमा प्रधानन्यायाधीशको राजीनामा माग्दै विरोध प्रदर्शन सुरु गरेको उच्च अदालत पाटन हेटौंडा बार एसोसिएसनका अध्यन सुशील पोखरेलले जानकारी दिए ।
केन्द्रीय बारको परिपत्रअनुसार, आइतबारबाट सुरु भएको प्रदर्शन यही कात्तिक ३० गतेसम्म दिनको १० बजेदेखि १२ बजेसम्म कालो पट्टी बाँधेर बारले अदालत अंगाडि धर्ना दिने उनको भनाई छ । यस्तै १२ बजेपछि अदालतमा बहस गर्न जाँदा कालोपट्टी बाँधेर जाने उच्च बारका अध्यक्ष पोखरेलले बताए । बारले अहिले बेन्च भने अस्वीकार गरेको छैन।
सर्वोच्च अदालत परिसरमा केन्द्रीय बारले प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई अदालत छिर्न नदिने जस्ता कार्यक्रम गरिरहँदा मकवानपुरमा पनि त्यसको प्रत्यक्ष असर देखिएको छ । उच्च अदालत पाटन हेटौंडा बारका अध्यक्ष पोखरेलले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म विरोधका कार्यक्रम जारी रहने जानकारी दिए । आज सोमबार पनि अदालत परिसरमा २ घण्टा धर्ना दिने उनको भनाई छ ।