नेपाल गोरखा परिवार दक्षिण कोरियामा दर्ता

सउल । दक्षिण कोरियामा स्थापना भएको र लामो समयदेखि सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहँदै आएको ‘नेपाल गोरखा परिवार’ नामक संस्था कोरियाको सउलस्थित सेमुस (कर कार्यालय) मा दर्ता भएको छ । २२ बर्षअघि स्थापना भई गैर नाफामूलक सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको यो संस्था हालसालै कर कार्यालयमा प्रारम्भिक रुपमा दर्ता भएको हो ।
संस्थाका अध्यक्ष नवराज भट्टराइले आफ्नो बाँकी २ बर्षे कार्यकालमा गैर नाफामूलक संस्थाको रुपमा गोरखा परिवार समाजलाई अन्य निकायहरुमा पनि दर्ता गरिने बताए । ‘यसअघि १० वटा नेतृत्व परिवर्तन भइसकेको छ । हामी ११ औँ कार्यकालमा छौँ । दर्ता नभएपनि संस्था सामाजिक सेवाका कार्यमा सक्रिय रहँदै आएको थियो । अब झन व्यवस्थित तवरले अघि बढाउने छौँ ।’ उनले भने ।
संस्थाका सचिव बुद्धिप्रसाद नेपालले प्रारम्भिक दर्ता पश्चात कोरियास्थित आइबीके इण्डस्ट्रियल बैँकमा संस्थाको खाता संचालनमा ल्याइएको बताए । यसले संस्थाको हर हिसाब व्यवस्थित र आय/व्यय विवरण चुस्त दुरुस्त हुनुको साथै रकम संकलनमा समेत सहज हुने उनको भनाई छ । संस्थाले बिगतमा कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि नेपालका विभिन्न जिल्लाहरुमा आर्थिक सहयोग उपलब्ध गराएको थियो । कोरियामा रहेका नेपालीहरुलाई समस्या पर्दा संस्थाले विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ ।