नेपाली पत्रकारिता र जनअपेक्षा

नेपाली पत्रकारिता क्षेत्रसँग जनताका अपेक्षाहरु के के होलान् ? हामीले ती जन अपेक्षा सम्बोधन गर्नेतिर कुनै दिन थोरै भएपनि सोचेका छौँ होला त ? मिडियाले केही गरिदिए हुन्थ्यो भन्ने आसा गरेका जन चाहनाबारे थोरै विमर्शको प्रयास गरौँ । पत्रकारिताले अन्य सबै क्षेत्रको समीक्षा गरिरहेको हुन्छ । राजनीतिक दलहरुले राज्य सञ्चालनका क्रममा गरेका त्रुटीबारे मिडियाले लामै विवेचना प्रस्तुत गरिरहेको हुन्छ । कर्मचारीतन्त्रले सही तरिकाले काम गरेनन्, उद्योगी व्यवसायीले आफ्ना कारोवार ठिक गरेनन् । होटलहरुले वासी खाना खुवाए । गाडिहरुले मनलाग्दी भाडा उठाए । सडक कार्यालयले बेलामा सडक मर्मत गरेन । ठेकेदारले मिलेमतोमा बाटो बनाएनन् । स्वास्थ्यकर्मीले बेलैमा अस्पताल गएर विरामीको उपचार गरेनन्, वा डाक्टरहरु आफ्नो सरकारी कार्यालयमा बेलामा नगई क्लिनिकतिर समय बिताए, यस्ता हजारौ विषयहरुमाथि हामी कलम चलाइरहेका छौं । नेताजीहरुले गर्ने भाषण त कुरै गर्न परेन, त्यस्ता भाषण नछापिएका पत्रिका र त्यस्ता भाषण बजाउने रेडियो टिभी त नेपाली पत्रकारितामा गणनामै आउँदैनन् । एकैछिन हामी हाम्रै पेसाबारे समीक्षा गरौँ र हाम्रो पेसामा हामीले जे गर्नुपर्ने हो त्यो गरिरहेका छौँ त भन्ने बारेमा पनि केही कुरा काटौँ भन्ने यो पंक्तिकारलाई लागेको छ ।
अहिलेको समाज निकै अगाडि छ । आजभन्दा १०/१५ वर्षअघिसम्म नेपाली पत्रकारले लेखेपछि र पत्रिका वा टेलिभिजनले प्रकाशन वा प्रशारण गरेपछि त्यसका विरुद्ध वा समर्थनमा त्यति ठूलो जनमत बन्दैन थियो । समाजिक सञ्जाल प्रचलनमा आउनुपूर्व पत्रकारिता क्षेत्रले प्राय विषयमा लिड गर्दथ्यो । तर, समय सधैँ एकनासको रहँदैन । अहिले समय फेरिएको छ र हाम्रा पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने र टेलिभिजन हेर्नेभन्दा बढी मासिनहरु सामाजिक सञ्जालमा जोडिएर गलत वा सही दुबै किसिमका सुचनाहरु हेरिरहेका हुन्छन् । त्यसैले हामी पत्रकारहरु चनाखो भएर आफ्नो क्षेत्रमा क्रियाशील हुनुपर्ने बेला छ । हाम्रा साना कमजोरीले पनि मिडिया क्षेत्रको बद्ख्वाई हुन्छ र हामी हाँसोको पात्र बन्न पुग्दछौँ । यो कुरा यहाँ किन उल्लेख गरिएको हो भने हामीले हाम्रो पत्रकारिताको ट्रयाक चेन्ज गर्नुपर्ने बेला भएको छ । हावादारी कथा बुनेर अबको मिडिया चल्न सक्दैन र समाचारमा दम हुनुपर्दछ । दमवाला समाचार भयो भने त्यो जनताको बीचमा छिट्टै प्रसारित हुन्छ र यही सामाजिक सञ्जालले त्यो समाचारलाई आम रुपमा ‘भाइरल’ बनाइदिन्छ ।
नेपाली मिडिया क्षेत्रमा मानिसको चासो कम हुँदैछ । हुन त बग्रेल्ती मिडिया खुलेका कारणले पनि यस क्षेत्रमा जनचासो कम हुँदै गएको होला तर त्यसबाहेक पनि हामीले जन चासोका समाचारहरुलाई खासै प्राथमिकता दिँदैनौँ । नेताजीका भाषण हाम्रा पहिलो प्राथमिकता बन्दै आइरहेको छ । आम रुपमा मानिसले भोगेका महंगी, भ्रष्टाचार, कुरिती, कुसंस्कारआदिका बारेमा कमैमात्र समाचार प्रकाशन प्रशारण भइरहेको पाइन्छ । थोरै मात्र मिडियाले जनताका जीवनमा प्रत्यक्ष प्रभाव पारेका र जनजिविकासँग जोडिएका इस्यूहरुमा समाचार लेखिरहेका छन् । अब उप्रान्त हामीले जनताका जीवनसँग जोडिएका समाचारहरुलाई प्राथमिकता दिनुपर्दछ । किसानले मल पाएनन् कि उनीहरुको अनुदानमा पहुँच भएन, जनताले उपचार पाएनन् कि उनीहरुको डाक्टरसम्म पहुँच भएन । जनताले खाद्य सामग्री सहज र सुलभ रुपमा पाएनन् कि यस्ता विषयहरु हाम्रा पत्रकारितका मुख्य समाचार बन्नुपर्दछ ।
नेताजीकै भाषण लेख्ने हो भने पनि ती नेताले निश्चित समयभित्र कतिपटक त्यस्ता भाषण गरे, भाषण अनुसारको व्यवहार गरेकि गरेनन् , समाचार बन्नुपर्दछ । राजनीतिक दलहरुको घोषणापत्रमा के छ, घोषणा अनुसार काम गरे कि गरेनन्, हो यस्ता समाचारहरु हाम्रा मिडियामा आउनुपर्दछ । जसले जे भन्यो त्यही दिनदिनै उही कुरा लेख्नु समाचार लेख्नु होइन । कुनै विज्ञप्ति सारेर समाचार हुँदैन । मिडियाले अब यस्ता कुराहरुमा विचार पु¥याउनु पर्दछ । अहिले नेपालमा देखिएका तमाम राजनीतिक द्वन्द्व र गतिविधि के प्राप्तीको लागि भइरहेको छ भन्ने कुरा हाम्रा मिडियाले उजागर गरिदिनुपर्दछ र त्यस्ता गतिविधिमा संलग्नहरुका विरुद्ध जनमत निर्माण गरिदिनु पर्दछ । अहिले राजनीतिक दलहरुका वडादेखि केन्द्र सम्मका महाधिवेशन भइरहेका छन् । ती महाधिवेशन जसरी भड्किलो देखिएको छ त्यसको स्रोत के हो भनेर मिडियाले सोधिदिनु पर्दछ । भव्य भव्य स्वागत् द्वारा बनाउने पैसाले कार्यकर्तालाई जिविकोपार्जन गर्न सीपमूलक तालिम दिन राजनीतिक दल किन उत्सुक हुँदैन भनेर मिडियाले सोधिदिनु पर्दछ । यस्ता थुप्रै विषय छन् जसलाई हामीले समाचार बनाउनु आवश्यक छ र यी विषयहरुमा भटाभट समाचार प्रकाशन प्रसारण हुन थालेपछि बल्ल नेपाली मिडियामाथि जनस्तरमा विश्वासको वातावरण बन्दै जानेछ । अन्यथा पत्रकारिता क्षेत्रमाथि जनताको शङ्का कायमै रहन्छ र हाम्रो पत्रकारिता पनि धमिलो नै रहिरहन्छ । मिडिया क्षेत्र व्यापक र विस्तार हुँदै जानु पर्दछ । यो क्षेत्र मरिच जस्तो खुम्चिनु हुँदैन । विस्तृत र विश्वसनीय बन्नु पर्दछ । त्यसका लागि हामीले आफैले हामीभित्रको कमजोरीको समीक्षा गर्नु पर्दछ र त्यसलाई सच्याउने तत्परता देखाउनु पर्दछ । अझ मुख्य कुरा जनताका इस्यू हाम्रा समाचार बन्नु पर्दछ । त्यसो भएमा मात्र जनविश्वास आर्जन हुन्छ र पत्रकारिताको भविश्य पनि उज्यालो हुँदै जान्छ ।
- यो लेख चितवनबाट प्रकाशित हुने कायाकैरन दैनिकबाट साभार गरी प्रकाशित गरिएको हो । सं.
लेखकबारे जानकारी लिन तलको लिङ्कमा क्लिक गर्नुहोस् :
https://www.linkedin.com/in/girija-adhikari-8224311b1
https://www.facebook.com/girija.adhikari