समाचार सामग्रीमा गुणस्तरीयताको खाँचो

‘मैले पत्रकारिता गर्दा मेरा सहकर्मीहरु कोही थिएनन् । त्यतिबेला समाचार लेख्दा एउटा समाचारको एक रुपैयाँ पाउँथेँ । त्यतिबेला खासगरी राजनैतिक समाचार हुँदैन थियो । बढी विकास निर्माण र सानातिना घटनाको समाचार हुन्थ्यो ।’ (मकवानपुरे पत्रकारिता इतिहास र समीक्षा, पृ. १४ । सं. अधिकारी गिरिजा र पाठक, युग २०६५ ) । यो भनाई नेपाल पत्रकार महासंघ मकवानपुरका संस्थापक सभापति स्वर्गीय न्हुच्छेमान श्रेष्ठको हो ।
मकवानपुरे पत्रकारिता इतिहास र समीक्षा (सम्पादक गिरिजा अधिकारी र युग पाठक) नामक पुस्तकको अनुभव खण्डमा उनले २०२२/०२३ सालमा राष्ट्रिय समाचार समितिको मकवानपुर संवाददाता भई काम गर्दाको अनुभव यसरी स्मरण गरेका छन् । त्यतिबेला अहिले जस्तो सुविधासम्पन्न छापाखाना पनि थिएन । अन्य संचार माध्यमसंग सम्बन्धित उपकरणहरु पनि अहिले जस्तो थिएन । उनको अनुभवमा ‘त्यतिबेलाको छापाखानामा हातले अक्षर मिलाई घासामा हालेर प्रेसमा लगी अखबार छापिन्थ्यो । त्यतिबेला व्यवस्थापिकाले पनि सहयोग गर्नुको सट्टा दबाब बढी दिन्थ्यो, त्यति राम्रो सहयोग गर्दैनथ्यो ।’
यो ५ दशकमा पत्रकारिता क्षेत्रमा उल्लेख्य परिवर्तनहरु भएका छन् । त्यसबेला स्वर्गीय श्रेष्ठलाई मात्रै मकवानपुरको पत्रकारको रुपमा चिनिन्थ्यो । अहिले सयौँको संख्यामा पत्रकारहरु छन् । सरकारी भन्दाबढी व्यवसायिक मिडियाहरु संचालनमा आएका छन् । अहिले पत्रकार र संचारमाध्ययमको संख्यात्मक विकास भएको छ । जसका कारण समाचारको दायरा पनि फराकिलो भएको छ । दूरदराजका आवाजहरु समाचार बन्न थालेका छन् । पत्रकारहरु पनि (अपवादबाहेक) पत्रकारिता गरेकै भरमा जीवन निर्वाह गर्नसक्ने अवस्थामा पुगेका छन् ।
छापा र विद्युतीय मिडियामा मात्रै सिमित त्यतिबेलाको पत्रकारिता अहिले अत्याधुनिक बन्दै गएको छ । इमेल इन्टरनेटको विकास र विभिन्न सामाजिक संजालहरुले सूचना प्रवाहमा सहयोग पुर्याइरहेको छ । सूचना र प्रविधिको क्षेत्रमा भएको विकाससंगै अहिले ‘चट्याङ्’ परेजस्तै छिटो र एकैसाथ समाचार नागरिकसमक्ष पुग्ने अवस्था छ । अनलाइन संचार मार्फत् संघीय राजधानी र दुर्गम भेगका नागरिकले एकैसाथ समाचार प्राप्त गर्नसक्ने वातावरणको सिर्जना भएको छ ।
अहिले नेपालको संविधानले परिकल्पना गरे अनुसारकोे शासनव्यवस्था सञ्चालन भइरहेको छ । केन्द्रीकृत शासन व्यवस्था परिवर्तन भई तीन वटा तहमा जननिर्वाचित सरकार छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यको प्रमुख तीन अङ्ग हुन् । पत्रकारितालाई राज्यको चौथो अङ्गको रुपमा स्वीकार गरिएको छ ।
आफ्नो मात्र नभएर सम्पूर्ण नागरिकको अधिकार रक्षाको लागि निरन्तर खबरदारी गर्नु पत्रकारिताको धर्म हो । आवाजविहीन नागरिकको आवाजलाई मुखरित गर्ने, नागरिकको अधिकारप्रति सचेत रहँदै राज्यका अन्य तीनवटा अङ्गसँग जनतालाई जोड्ने पुलको काम गर्नु पत्रकारिताको कर्तव्य पनि हो । त्यसकारण पनि हामी विनयशील, अध्ययनशील र सचेत हुनु आवश्यक छ ।
तीब्र र विश्वसनीय सूचना सम्प्रेषण गर्नु पत्रकारिताको धर्म हो । तर, मिडियामा सक्षम जनशक्तिको अभाव, चाँडो सूचना सम्प्रेषण गरेर धेरै लोकप्रियता कमाउने हुटहुटीले गुणस्तरीय समाचार नागरिकसमक्ष पुग्न सकिरहेको छैन । यस्ता विषयमा हेक्का नराख्दा पत्रकारिता क्षेत्र पटकपटक आलोचितससेत बन्नु परेको छ । ठूला संचार माध्ययमले बाहिर ल्याएका सूचना कपिपेष्ट गर्ने बाँनीले पनि कहिलेकाँही गलत सूचना क्षणभरमै छ्याप्छ्याप्ती हुनपुग्छ ।
पत्रकारको क्षमताविकासको क्षेत्रमा राज्यले लगानी गर्न नसकेका कारण दक्ष पत्रकारको खँडेरी छ । जसका कारण उत्कृष्ट विषयहरु समाचारका रुपमा बाहिर आउन सकिरहेका छैनन् । विभिन्न फोरमहरुमा पत्रकारको समस्या भनेकै कम पारिश्रमिक हो भन्ने बहस भइरहेको हुन्छ । तर, पारिश्रमिककै कारण गुणस्तरीय नतिजा नआएको विश्लेषण भइरहँदा राज्यले पत्रकारका लागि राम्रो प्रशिक्षण केन्द्र स्थापना गर्न आवश्यक भइसकेको छ । पत्रकारितामा प्रवेश गर्दै गरेकाहरुलाई यसका काम कर्तव्य, अधिकार समाजप्रतिको उत्तरदायित्व र जवाफदेहीता, संवेदनशीलताबारे जानकारी गराएर पर्याप्त अभ्यास गराउन जरुरी छ ।
अहिले मकवानपुरकै सेरोफेरोमा रहेर भन्ने हो भने ठूलो संख्यामा पत्रकारहरु छन् । कोही पत्रकारितालाई नै मुल पेशा बनाएर कार्यरत छन् भने कोही पत्रकार हुँ भन्नका लागि मात्रै उभिएका छन् । कोही पत्रकारिताको धर्म विपरित काम गरिरहेका छन् । कसैले पर्चाकारिता गरिरहेका छन् । विषयगत ज्ञान र दक्षता नभएका, सम्बन्धित पेशामा क्रियाशील नभएकाहरुलाई पनि संचारमाध्ययमले पत्रकार परिचयपत्र वितरण गरिरहेका छन् । जसका कारण यो पेशानै बद्नाम हुने हो कि भन्ने खतरा बढ्दै गएको छ । व्यवस्थित संचारमाध्ययमको परिकल्पना कसैले गरेको छैन । आफैँले मिडिया खोल्न पाए के के नै हुन्छ भनेझै स्वरोजगार मिडिया संचालन गर्ने नाममा एक व्यक्तिले २ वटासम्म अनलाइन तथा साप्ताहिक पत्रिका संचालन गरिरहेका छन् । बीट पत्रकारिताको अध्यास शुन्य छ । यूट््यूब च्यानल, फेसबुकजस्ता सामाजिक संजालहरु पत्रकारिता होइनन् । तर यस्ता संजालमा जथाभावी पत्रकारिताको मूल मर्मलाई ख्याल नगरी आएका श्रब्यदृश्य सामग्रीलाई आम नागरिकले पत्रकारिता भनेर बुझ्दै आएका छन् । जसले यो पेशाप्रति नागरिकको गलत धारणाको विकास भएको छ । पत्रकारप्रतिको सम्मान खस्कँदै गएको छ ।
सम्पादनको चरण पार नगरी जे देख्यो त्यही लेख्ने, भाषिक शुद्धताको ख्याल नराख्ने, सामाजिक सहिष्णुता, जातीय र धार्मिक द्वन्द्ध भड्काउने, लैङ्गिक सुरक्षाको ख्याल नगर्ने जस्ता कमिकमजोरी पत्रकारहरुले गरिरहेका छन् । कति क्षमता र कुनस्तरका व्यक्ति पत्रकार हुने भन्ने गतिलो मापदण्ड नहुँदा केही गलत व्यक्तिहरुले पत्रकारितालाई कमाउधन्दा बनाइरहेका छन् । एउटै पत्रकार व्यापारी, एनजिओ/आइएनजिओकर्मी, सरकारी वा अर्ध सरकारी निकायको प्रतिनिधि, शिक्षक लगायत पेसामा आबद्ध भएको हुन्छ । यस्ता अनगिन्ती विकृतिहरू पत्रकारिता क्षेत्रमा हुन थालेको छ ।
पत्रकारिता सम्बन्धी कुनै मापदण्ड बन्न नसकेको भएपनि आफू पाठक, दर्शक तथा श्रोता बनेर आफ्नो लेखाइ, बोलाइ र प्रसारणमा यो कुरा पुगेन भनेर गुनासो गर्ने स्थान हुनुहुँदैन भन्ने कुरामा आफैँले हेक्का राख्नुपर्छ भन्ने लाग्छ । प्रतिस्पर्धामा माथि आउन गलतै भए पनि जे बिक्छ, त्यसैलाई समाचार बनाउने र अरूको टाउको कुल्चेर आफू माथि पुग्ने नियत केही सञ्चार संस्थाहरूमा हाबी भएको छ । आवश्यक ज्ञानको अभाव तथा लहडका आधारमा गरिने पत्रकारिता कहिलेकाहीँ निहित स्वार्थका कारण समाचारका विषयवस्तुमा यर्थाथरुपमा प्रस्तुत नहुँदा यसले समग्र समाजमा नकारात्मक समस्या पैदा गरेको छ ।
यो आलेखको शीर्षभागमा अग्रज पत्रकार स्व. श्रेष्ठले भनेजस्तो अहिले एउटा समाचारको एक रुपैयाँमात्रै पाउने अवस्था छैन । पत्रकारिताबाट जीवन नै धान्न सकिने गरी मिडियाहरुले पत्रकार तथा कामदारलाई पारिश्रमिक दिँदै आएका छन् । बरु हामीले उच्च गुणस्तरको समाचार सामग्री पस्किन सकेका छैनौँ । पारिश्रमिक गतिलै पाउने अवस्था बनेको छ तर त्यस अनुसारको गुणस्तरीय समाचारको उत्पादनमा पनि हामी पत्रकार क्रियाशील हुनुपर्दछ ।
पुडासैनी, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य हुन् ।
मिति २०७८/८/७ गतेको हेटौंडा सन्देश दैनिकमा प्रकाशित लेख ।