कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने

तु खबर संवाददाता
२०७८ मंसिर ८,बुधबार १४:४५

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै हुने भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश र केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय भएको जानकारी दिएका हुन् । यसअघि जिल्ला अधिवेशन यही मंसिर १० गते हुने तय भएको थियो ।

जिल्लाका पदाधिकारी, सल्लाहाकार, पूर्वअध्यक्षहरु र नव निर्वाचित महाधिवेशन प्रतिनिधि, संघीय र प्रदेश सभापति र प्रतिनिधिहरुको छलफलबाट सर्वसम्मत रुपमा निर्णय गरी प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय भएको उनको भनाई छ ।

मंसिर ६ गते मात्रै संघको क्षेत्रीय अधिवेशन सम्पन्न भएको र संघीयतापछि पहिलो पटक हुन गइरहेको कांग्रेसको बागमती प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हेटौंडामा नै सम्पन्न गर्नुपर्ने भएकाले जिल्ला अधिवेशनलाई सारिएको बानियाँले बताए । ‘हामीले भर्खरै जिल्लामा प्रदेश र संघीय निर्वाचन क्षेत्रहरुको अधिवेशन सकेका छौं । अब मंसिर १६ र १७ गते प्रदेश अधिवेशनको तयारी गर्नुपर्ने छ । त्यसका लागि हामी सबै जुट्नुपर्ने भएकोले हामीले जिल्ला पदाधिकारी, पूर्वअध्यक्षहरु र सल्लाहकारसहितको बैठकबाट सर्वसम्मत रुपमा जिल्ला अधिवेशन प्रदेश र केन्द्रीय महाधिवेशन पछि सार्ने निर्णय गरेका छौं ।’ उनले भने ।

सोही अनुसार निर्वाचन अधिकृतलाई पनि जानकारी गराइसकिएको उनले बताए । उनले प्रदेश अधिवेशनलाई भव्य रुपमा सफल बनाउन आवश्यक व्यवस्थापनको काममा सक्रिय रुपमा खटिन सबै नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । संघीयता पछि पहिलो पटक हुन गइरहेको कांग्रेसको प्रदेश अधिवेशन ऐतिहासिक र भव्य बनाउन सबै लाग्नुपर्ने उनले बताए ।