हामी नै अमरसिंह रहेछौं

बलराम पुडासैनी
२०७८ मंसिर ११,शनिबार १०:१९

प्रधानमन्त्री (गम्भीर मुद्रामा) – ‘महारानी सरकारको जय । युद्ध जारी छ । हाम्रा वीर योद्धाहरु डगेका छैनन् । तापनि शक्तिशाली अंग्रेजको आधुनिक तोपगोलाको अगाडि हाम्रो सैन्यशक्ति कमजोर पर्दैछ । यहाँबाट खरखजाना, गोलीगठ्ठा पठाउन दिनानुदिन कठिन हुँदैछ । यस अवस्थामा महारानी सरकार शत्रुसँग बुद्धिमतापूर्वक सम्झौतामा पुग्नु मुलुकको हितमा देख्दछु । जो हुकुम सरकार ।’

महारानी (रक्तिम अनुहारले जगिंदै) – ‘खबरदार, झुक्ने हैन । सम्झौता पनि हैन । युद्ध जारी राख्नु । आवश्यक रसदपानी र थप फौजको व्यवस्था तत्काल हुनेछ । भन्देऊ हाम्रा बहादुर सेनालाई । म र तिमी स्वयम् युद्धभूमिका आउँदै छौँ । भक्ति थापा, बलभद्र र अमरसिंह जस्ता वीरहरु प्रत्येक पहाडबाट हुरीबतासको गतिमा आउँदैछन् – भन्देऊ ती कुइरेलाई …’ (अमरसिंहको खोजीमा अमरसिंह नाटक, पृष्ठ १९, नाटककार थापा तुल्सी )

नाटककार थापाको ‘अमरसिंहको खोजीमा अमरसिंह नाटक’ मा महारानीले प्रधानमन्त्रीलाई दिएको हुकुम हो यो । कलाकार (महारानी) मीनाले कलाकार (प्रधानमन्त्री) कमललाई दिएको यस्तो हुकुमले वीर नेपालीको वास्तविक भावना झल्काउँछ । तर, कलाकार मीनालाई यस्तो हुकुम इतिहासमा नभएको भन्दै इतिहासमा आधारित भएर अभिनय गर्न निर्देशन दिइएको छ । मीना वास्तविक भावनालाई दबाएर आत्मसमर्पित एवम् मजबुर सम्वाद बोल्न बाध्य हुन्छिन् । नाटकमा यस्ता हृदय छुने संवादहरु धेरै ठाउँमा पाइन्छ ।

राष्ट्रिय अखण्डतालाई सर्वोपरि ठानेर अक्षुष्ण राख्न र राष्ट्रको गौरवमय सँस्कृतिको जगेर्ना गर्नु तपाईहामी सबैको जिम्मेवारी हो । पुर्खाको अस्तित्व जोगाउँदै ऐतिहासिक, प्रतिभाशाली, राष्ट्रभक्त, राष्ट्रपे्रमी, वीर योद्धाजस्ता महान् व्यक्तिको सही र महत्वपूर्ण पहिचान राख्दै उनीहरुको अनुसरण र अनुकरण गर्नु आवश्यक छ भन्ने सन्देश नाटकबाट सशक्त किसिमले प्रवाहित भएको देखिन्छ ।

अमरसिंह थापा नेपाली गौरवगाथाका अमर नायक हुन् । यस्ता नायकको अनवरत् खोजी नाटकमा गरिएको छ । नाटकमा विजय नामका कलाकार अमरसिंहमा रुपान्तरित भएका छन् । अजय र पराजय नामका कलाकार देश र आफ्नो पहिचानबारे चिन्तित छन् । देशलाई बचाउनेहरु नभएको भन्दै उनीहरुमा दसजगावासी हुने त्रास व्याप्त छ ।
एक ठाउँमा भनिएको छ,
–अहिले नेपाल कत्रो छ ?
–कत्रो छ ? अब फेरि नाप्नु पर्छ । नाप्ने आँट गर्नुपर्छ । पहिले जत्रो अवश्य छैन ।
– अघि देश नाप्ने कुरा गर्दै हुनुहुन्थ्यो ।
–यस्तै ताल हो भने देश नाप्नै पर्दैन ।

नाटकमञ्चन गर्नुपर्ने छ । अजय र पराजय पनि सहभागि छन् । नाटकको प्रमुख पात्र विजय ढिलोसम्म आइपुग्दैनन् । विजय नभई नाटक मञ्चन नै हुन सक्क्तैन । सबै विजयको प्रतिक्षामा हुन्छन् । एक ठाउँमा भनिएको छ,
–विजय अझै आइपुगेको छैन ?
–विजय अलि ढिलै आउने गर्छ ।
–मतलव ?
–ठूलो संग्रामपछि, कसैलाई पराजित गरेपछि मात्रै विजय आउँछ । यो सजिलै, सधैँ आउँदैन ।

सबै कलाकार विजय (अमरसिंह) लाई मञ्चमा खोजिरहेका हुन्छन् । यता विजय भने अमरसिंहको खोजीमा हुन्छन् । अमरसिंहको खोजीमा रहेर ढिलो गरी मञ्चमा पुगेका उनले अमरसिंह व्यक्ति मात्रै होइनन् उनी हाम्रा भावना हुन्, अझ आत्मा हुन् भन्ने अनुभूति गर्छन् र अभिनयको लागि तयार हुन्छन् ।

‘तपाईभित्र पनि एउटा अमरसिंह छ । उहाँलाई जिउँदो राख्नुहोला । देश त्यहिँ छ । आत्मसम्मान र समृद्धि त्यहिँ हुन्छ । अजय र पराजयले जस्तै दशजजामा जाने कल्पनासम्म गर्नुपर्ने छैन ।’ विजयले भनेका छन् । अमरसिंहलाई नेपाली र नेपालका मूल्य र चेतनासित गाँसेको कुरा स्पष्टरुपमा दर्शाइएको छ । विजयको प्रतीक्षामा बोलिएका संवादहरुले हामीलाई हाम्रो इतिहास, त्यसको गरिमा र त्यसका नाटकसँग सोझै जोडेको छ । विषय जटिल भएपनि प्रस्तुति सरल र अत्यन्त रोचक छ ।

नाटकमा माधव, प्रदीप, सरोज राजेश, शोभालगायतका कलाकारको अभिनय पनि सरल छ । नाटकले प्रवाह गर्न खोजेको सन्देशका लागि उनीहरुको सहयोगी भूमिका छ । थोर भएपनि शृङ्गार रसको प्रयोगले नाटकलाई रोचक बनाइदिएको छ । विजयलाई देख्नासाथ मीना टोलाउने गर्छिन् । उनको विषयमा चासो चिन्ता राख्छिन् । भट्टि साउनी रम्भालाई विजयसँग नजिक भएको भन्दै इश्र्या भाव राख्छिन् । यसबाट मीनाले विजयलाई एकोहोरो प्रेम गरेकी हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । तर नाटककारले उनीहरुको सम्बन्धबारे स्पष्ट पारेका छैनन् । विजय, रम्भा र भट्टी पसलको सम्बन्ध पनि खुलाइएको छैन ।

नाटककारलाई इतिहासको भने गहिरो बोध छ । उनले नाटकलाई यसरी तयार गरेका छन् कीे नाटकको थालनी नै समाप्तीबाट भएको छ । उनले नाटकमार्फत् दिन खोजेको मूल सन्देश अमरसिंहको प्राप्ती नै हो भन्ने लाग्छ । अर्थात्, करोडौँ अमरसिंहहरु पुनः जन्मिएका छन् । तपाईहामी सबै अमरसिंह बन्न सक्छौँ । त्यसका लागि हामीले आफुभित्रको अमरसिंहलाई जगाउन जरुरी छ ।

नाटकलाई नेपाल–अंग्रेजबीचको युद्धसंग जोडेर प्रस्तुत गरिएको छ । सन् १८१४ देखि १८१६ सम्म भएको युद्धपछि सन् १८१६ मार्च ४ मा बेलायतको इष्ट इण्डिया कम्पनी र नेपाल सरकारबीच सुगौली सन्धि भएको थियो । नाटकमा यसबारे पनि अलि प्रकाश पारिएको भए अझै राम्रो हुन्थ्यो कि । जुन सन्धि अमरसिंहको इच्छाविपरित थियो ।

त्यसबाट नेपालले मेचीदेखि पूर्व र महाकालीदेखि पश्चिमको तराई र पहाडको धेरै ठूलो भूभाग गुमायो । यसको फाइदा भारतलाई भयो । हाम्रो इतिहासले हामीलाई ‘वीर’ भने पनि अंग्रेजसँगको युद्धमा नेपाल नराम्ररी पराजित भएको तितो इतिहास हामीमाझ छ । अंग्रेज नेपाललाई आफ्नो साम्राज्यमा गाँस्नुभन्दा पखेटा काटिएको चरा जस्तै बनाउन चाहन्थ्यो । त्यसै अनुसार उसले युद्ध लड्दालड्दा हत्तु भएको नेपालबाट ठूलो भूभाग लिने गरी सुगौली सन्धि गर्यो । बँचेको भूभाग हालको नेपाल हो । ठूलो संख्यामा रहेका अंग्रेज फौज र अत्याधुनिक हातहतियारविरुद्ध अमरसिंह जस्ता वीर पुरुषले भरुवा बन्दूक, खुकुरी, घुयेंत्रो, साना तोप, धनु, ढाल, तरबार जस्ता परम्परागत हतियारका भरमा वीरता प्रदर्शन गरेका थिए । राष्ट्रनिर्माण, राष्ट्ररक्षा, राष्ट्रियता, अखण्डताको रक्षाका खातिर ज्यानको आहुति दिने व्यक्ति अमरसिंह थापाको नाम इतिहासको पानामा अमर र अजर रहेको छ ।

त्यस्ता वीरविरांगना शताब्दीयौंसम्म जीवित रहने काम हामीले गर्नुपर्छ । देशको लागि मरिमेट्ने मूर्धन्य व्यक्तिको इतिहास लेखन र उनीहरूको योगदान स्पष्ट देखिने गरी जोगाउन सकेनौं भने ती व्यक्तिहरूलाई आगामी पुस्ताले चिन्दैनन् । यो नाटकमार्फत् ती वीर पुरुषलाई पुनः नयाँ पुस्तासमक्ष ल्याउनुभएकोमा म नाटककारलाई धन्यवादसमेत दिन चाहान्छु ।

नेपाल राष्ट्र एकीकरण गर्न, जोगाउन, संरक्षण गर्न, विखण्डनबाट रोक्न यस्ता वीर पुरुषको योगदान अतुलनीय छ । नाटकमा उल्लेख भएझै साँच्चै देश चार किल्लाभित्रको जमिन होइन । त्यस जमिनको आधिपत्य जमाउने सरकारमात्र होइन । देश त्यहाँ बस्ने मान्छेको हुलमात्र पनि होइन । जमिन, जनता र सरकार । यी त जहाँ पनि हुन्छन् । त्यतिले देश बन्दैन । देश हुनुलाई आत्मा चाहिन्छ । सबै नागरिकले अमूर्त आत्मामा मूर्त रुपमा खोज्नुपर्छ । हामी नै अमरसिंह हौँ । अमरसिंह नै हामी हौँ । २०७८ मंसिर ११ गतेको हेटौंडा सन्देशमा प्रकाशित सामग्री हामीले साभार गरेका हौँ ।

पुडासैनी नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य हुन् ।