मकवानपुरमा हुने अन्तरपालिका फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

तु खबर संवाददाता
२०७८ मंसिर १६,बिहीबार ०९:१२

मकवानपुर । मकवानपुरमा यही मंसिर १८ गतेदेखि जिल्लास्तरीय प्रथम अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको व्यवस्थापनमा १८ गतेदेखि २५ गतेसम्म हुने भएको हो । त्यसको लागि सबै तयारी पूरा भएको आयोजक टिमले बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

गत वैशाखमा आयोजना गर्ने भनिएको प्रतियोगिता कोरोनाका कारण स्थगित भएको थियो । हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौर खेलमेदानमा हुने प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहबाट सहभागिता जनाउने आयोजकले जनाएको छ । सम्मेलनमा जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले युवाहरूमा खेल भावनाको विकास र एकताबद्ध बनाउन, खेलकुद प्रति आकर्षित गरी स्वस्थ युवा जनशक्ति उत्पादनमा सहयोग गर्ने, खेल प्रतिभाको खोजी गर्ने, जिल्ला स्तरीय फुटबल टिम तयार गर्ने, खेलकुद गतिविधिलाई स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

मकवानपुरका दश वटै स्थानीय तहको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेल हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकबीच हुनेछ । सो प्रतियोगिता संचालनका लागि कुल ७ लाख ५८ हजार रुपैयाँ लाग्ने आयोजकले जनाइएको छ । प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।