प्रधानन्यायाधीश जबराविरुद्ध बारको विरोध प्रदर्शन

तु खबर संवाददाता
२०७८ मंसिर १७,शुक्रबार १६:५२
file-photo

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै निरन्तर प्रदर्शनमा रहेको छ । शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै एशोसिएसनले आफ्नो प्रदर्शन जारी राखेको हो । प्रदर्शनको क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरा कोरोना पोजेटिभ भएको अवस्थामा स्वास्थ्य प्रोटोकल पालना समेत नगरी अरु न्यायाधीशलाई कायममुकायम प्रधानन्यायाधीश बन्न नदिनका लागि जबरजस्ती डिस्र्चाज भएको आरोप लगाए ।

उनले प्रधानन्यायाधीश जबराले संविधानको धारा १२९ को उपधारा ६ बमोजिम कुनै कारणले प्रधानन्यायाधीशले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा सर्वोच्च अदालतमा उपस्थिति हुन नसकेमा सर्वोच्चका वरिष्ठतम् न्यायाधीशले कायममुकायम भएर काम गर्ने सक्ने व्यवस्था रहेको स्मरण गराउँदै बारले यो विषयमा अगाडि नै ध्यानाकर्षण गराएको प्रष्ट पारे । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भएको पाँच दिनमा नै डिस्चार्ज भएर न्याय सम्पादनको काम गर्नु गलत भएको भन्दै यस्तो गलत कामले आगामी दिनमा सर्वोच्च अदालतमा नराम्रो नजिर बस्ने जिकिर गरे ।