एक सातामा विमास्थलबाट ७२ किलो सुन भित्रियो

तु खबर संवाददाता
२०७८ मंसिर २०,सोमबार १५:२१
file-photo

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक साताको अवधिमा ७२ किलो काँचो सुन भित्रिएको छ । गत मंसिर १३ गतेदेखि १९ गतेसम्मको अवधिमा विभिन्न देशबाट ७२ किलो ७ सय ग्राम काचो सुन नेपाल भित्रिएको हो । उक्त सुन विदेशबाट नेपाल फर्कने एक हजार ५३० जना नेपालीले आ–आफ्नो साथमा ल्याएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार, विदेशबाट फर्किएका ती नेपालीमध्ये १३ सय ४१ जनाले सुनको भन्सार तिरेका छन् । भन्सारमार्फत ७ करोड रुपैयाँ राजश्व उठ्ने छ । विदेशबाट नेपाल फर्कने क्रममा सुनका तयारी गहनाको रुपमा व्याख्या गर्दै ल्याउने गरेको पाइएपछि सरकारले विमानस्थल भन्सारमा कडाइ गरेको हो । तर, नेपाल भित्रिएको ७२ किलो काँचो सुनको बालामध्ये अहिलेसम्म जम्मा ५६ किलो मात्रै सुनको भन्सार संकलन भएको छ ।

१३ सय ४१ जनाले तिरेको भन्सारमार्फत ५ करोड ४२ लाख रुपैयाँ राजश्व उठेको भन्सार प्रमुख भट्टराईले बताए । विदेशबाट नेपाल आउने नेपालीहरुले ५० ग्रामसम्म सुनको तयारी गर–गहना नेपाल ल्याउन पाइने प्रावधानको गलत प्रयोग गर्दै ठूलो मात्रामा काँचो सुन ल्याउने पाइएको छ ।