स्थानीय तहका १६१३ कर्मचारी सरुवा

काठमाडौं । सरकारले स्थानीय तहका १ हजार ६ सय जनाभन्दा बढी कर्मचारीको काज सरुवा गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मंगलबार स्थानीय तहका १ हजार ६१३ जना कर्मचारीको काज सरुवाको निर्णय सार्वजनिक गरेको हो । स्थानीय तहमा कार्यरत र अपायक भएका कर्मचारीहरुलाई उनीहरुको निवेदनका आधारमा कामकाज गर्नेगरी अर्को स्थानीय तहमा खटाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।
उनका अनुसार स्थानीय तहका कर्मचारीहरुको सरुवासम्बन्धी कानूनी व्यवस्थाको अभावका कारण अहिले अन्तर स्थानीय तह कामकाजमा खटाइएको भनी निर्णय भएको छ । नयाँ संविधान जारी भएपछि लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भई नियुक्त भएका स्थानीय तहका कर्मचारीहरुलाई मात्रै मन्त्रालयले सरुवा गरेको हो । मन्त्रालयले निवेदन दिएकाहरुमध्ये मापदण्ड पुगेकाहरुको हकमा निर्णय भएको हो । मापदण्ड पूरा नगरेकाहरुलाई सरुवा नगरिएको जनाएको छ ।