जनजाति आयोगद्वारा बागमती प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

मकवानपुर । आदिवासी जनजाति आयोगले आज (आइतबार) बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामबहादुर थापा मगरले प्रदेश प्रमुख शर्मालाई आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदनमा आदिवासी जनजातिका सवाल, आदिवासी जनजाति आयोगले सम्पादन गरेका काम–कारवाहीलगायतका विषय समेटिएको आयोग अध्यक्ष थापा मगरले जानकारी दिए । आयोगले देशका सातै प्रदेशमा आफ्नो वार्षिक प्रतिवेदन बुझाउने कार्यक्रम अनुसार बागमती प्रदेशमा पनि प्रतिवेदन बुझाइएको अध्यक्ष थापाले बताए ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शर्माले आदिवासी जनतातिलाई राज्यको पहुँचमा ल्याउनका लागि आयोगलाई लागिपर्न सुझाव दिए । उनले आदिवासी जनजातीको सीप, श्रम तथा जाँगरको सम्मान गर्दै उनीहरुको उत्थान हुने खालका कार्य योजनाहरु अघि बढाउनुपर्नेमा जोड दिए । आयोगलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले आफ्नो भूमिकानिर्वाह गर्नका लागि प्रमुख शर्माले शुभकामना व्यक्त गरे ।
कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ, आयोगका सचिव भोला दाहाल, प्रदेश प्रमुख कार्यालयका उपसचिव कृष्णप्रसाद आचार्य, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव पारसमणि फुयाललगायतको उपस्थिती रहेको थियो ।