मकवानपुरमा मिडिया: मेरो मुल्याङ्कन
![](https://www.tukhabar.com/wp-content/uploads/2021/12/samikchya.jpg)
‘इतिहास लेखन कार्य कहिल्यै पनि पूर्ण हुन सक्दैन भनिन्छ। यसमा जति धेरै उत्खनन् गर्दै गयो उति केही न केही नयाँ कुराहरु थपिदैँ जान सक्दछ ।’ पुस्तकका लेखक गिरिजा अधिकारीले पुस्तकको आफ्नो भनाईका क्रममा लेखेको यो हरफले यस पुस्तकको लेखनमा उनले गरेको मेहनत र उनको लगनशीलता प्रष्ट हुन्छ । लेख्नु आफैँमा एउटा गाह्रो विषय हो । अझ मकवानपुरमा मिडिया जस्तो खोज तथा अनुसन्धानमुलक इतिहास बोकेको किताब लेख्नु चूनौतिपूर्ण कार्य हो । यो साहस गरेर यसलाई किताबको रुपमा प्रकाशन गरी एउटा जीवन दिने सोच राख्नु लेखकको अदम साहसको रुपमा मैले लिएको छु । किताब प्रकाशन गरी पाठकको हातहातमा पुर्याकउन सफल लेखक गिरिजा अधिकारीलाई हार्दिक बधाई ।
पत्रकारिता क्षेत्रमा मेरो आफ्नो पनि कहिँ कतै उपस्थिति रहेकाले मलाई यो पुस्तक हातमा पर्दा एउटा छुट्टै आनन्दको महशुस भयो। मानिस आफ्नो इतिहास प्रति सधैँ खोज र चाख राख्छ । त्यस्तै म पनि जीवनको केही उर्वर वर्षहरुमा मकवानपुरको पत्रकारिता क्षेत्रमा रहेकाले यो पुस्तक मेरो आफ्नै ईतिहासको दस्तावेजको रुपमा मैले ग्रहण गरेको छु । यो अवसर मैले प्राप्त गर्नुमा लेखकको यो मेहनत र भूमिकालाई हृदयबाटै सम्मान सहित धन्यवाद ।
मकवानपुरको भूमि हरेक किसिमले प्रख्यात छ । नेपालको विरताको इतिहासको कालखण्डदेखि वर्तमान अवस्थासम्म आईपुग्दा हरेक क्षेत्रमा मकवानपुरले आफ्नो भूमिका निर्वाह गरिनैरहेको छ । मकवानपुरले युगौँदेखि देशलाई परिवर्तन गर्ने महाअभियानमा सहादत प्रदान गर्ने सपुतदेखि राजनितिज्ञ, कला क्षेत्रका हस्ति, साहित्यकार, खेलाडीलगायत मूर्धन्य व्यक्तिहरु जन्माउँदै हुर्काउँदै आइरहेको छ । नेपाली पत्रकारिता क्षेत्रमा पनि मकवानपुरको मलजल रहेको छ ।
पुस्तक पढिरहँदा मकवानपुरको पत्रकारिता क्षेत्रको इतिहासले गौरवान्वित बनाएको छ। देशको विभिन्नँ राजनैतिक परिवर्तन तथा विकासको क्रममा धेरै उतारचढावहरु आए । ती उतारचढावहरुको सामना मकवानपुरको पत्रकारिता क्षेत्रले पनि ब्यहोर्नु परेको थियो । किताबमा लेखकले उतारेको ऐतिहासिक विवरणहरुको अध्ययन गर्दा मकवानपुरमा धेरै संचारमाध्यमहरुको बिजारोपण भयो, केही उम्रिए, उम्रिएकाहरुमध्ये केही हुर्किए, हुर्किएका मध्ये केही फलेफुले केही अस्तित्वमा मात्रै सिमित रहे । नेपालकै चर्चित व्यक्तित्वहरुको मकवानपुरमा पत्रकारिताको लगानीले पनि मकवानपुरको पत्रकारिता क्षेत्र थप ओजिलो बनेको छ । नेपाली संगीत क्षेत्रका नक्षत्रका रुपमा रहेका तथा स्वर सम्राट नारायण गोपालका सहकर्मी भीम विराग, अग्रज पत्रकार श्यामप्रसाद शर्मा, नवराज शर्मा, कौशल पाण्डेदेखि हाल नेपालका राजनीतिका एक प्रसिद्ध नेता कमल थापाको मिहेनत र पसिनाले समेत मकवानपुरको पत्रकारिता क्षेत्र सिंचित छ । मकवानपुरकै भूमिबाट पत्रकारिता सुरु गरेका कैयन् व्यक्तित्वहरु देशका विभिन्नि उच्चु स्तरका दैनिक पत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनहरुमा स्थापित भएर काम गरिरहेका छन् , जुन मकवानपुरमा पत्रकारिता गरिरहेका तथा पत्रकारितामा नवप्रवेशीहरुको प्रेरणाको श्रोतहरुको रुपमा रहेका छन् ।
मकवानपुरमा मिडिया किताबले अभिलेखिकरण मात्रै गरेको छैन यस किताबमार्फत लेखकले अग्रज तथा समकालिनहरुलाई सम्मान प्रदान गरेका छन् । यो किताब मार्फत मकवानपुरमा रहेर काम गरेका पत्रकारहरुमा एक प्रकारको तिर्नै नसकिने ऋण बोकाएका छन् ,लेखक गिरिजा अधिकारीले । यो किताब फुर्सदको समयमा समय कटाउन पढ्ने किताब मात्रै बनेको छैन यो मकवानपुरमा मिडियाको उत्पत्ति र यसको विकास क्रमका विषयमा अध्ययन तथा अनुसन्धानको एउटा श्रोत तथा सन्दर्भ सामाग्रीको रुपमा समेत रहन सक्छ । लेखकले मकवानपुरको पत्रकारिता क्षेत्रलाई यो किताबमार्फत ठुलो गुन लगाएका छन् । लेखकको पत्रकारिता क्षेत्रमा रहेको अगाध प्रेमलाई सम्मान, मेहनत र लगनशिलताको उच्च प्रशंसा सहित सफलताको शुभकामना,बधाई ।