शेषराज दाहाल र उनको धार्मिक मिथक कथासङ्ग्रह
धनकुमारी र रामप्रसाद दाहालका सुपुत्र शेषराज दाहाल विक्रमाब्द २०१० को असार १९ देखि यस धरणीमा आफूलाई भौतिक रुपमा अस्तित्ववान छन् । कमलामाई नगरपालिका ६ सिन्धुलीमाडीमा मूल ठेगाना बनाई जीवनयात्रा गरिरहेका दाहालको प्रादुर्भाव भने सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वालटारमा भएको हो । लामो समयसम्म शिक्षणरत दाहाल अनेक संघसंस्थामा आबद्ध भएर समाजसेवा गर्दै गरेका दाहालले साहित्यसेवामा पनि योगदान दिएका छन् ।
जनसेवा पुस्तकालय सिन्धुलीबाट दाहालको ‘नेपाल नै स्वर्ग हो’ भन्ने कृति प्रकाशित भएको छ । यसलाई धार्मिक मिथक कथासङ्ग्रह भनिएको छ । २०७७ मा प्रकाशित यस कृतिमा ३२ ओटा मिथक कथाहरु रहेका छन् । यस आलेखमा दाहालको कृतिमा प्रकाशित ३२ ओटै शीर्षकका मिथक, कथा वा विचारलाई रचना भनिएको छ । हुन त मिथकको कुनै धार्मिक वा पौराणिक आधार नहुन पनि सक्छ । समाजमा प्रचलनमा रहेको धारणाहरुको कथात्मक रुप मिथक हुन्छ जुन धर्म, पुराण, धार्मिक विश्वास र आस्थासित सम्बन्धित हुन्छ । दाहालको यस कृतिले पनि आधार लिएको क्षेत्र यिनै हुन् ।
‘नेपाल नै स्वर्ग भएको पुष्टि’ शीर्षक रचनामा विभिन्न दृष्टान्तसाथ दाहालले नेपाललाई स्वर्ग भएको पुष्टि गरेका छन् । यो लघुआलेख हो र शीर्षकलाई सार्थक बनाउन पौराणिक तथा सामाजिक र भौगोलिक आधारहरु यसमा लिइएका छन् । ‘पञ्चमुखी शिवलिङ्ग नेपालमै’ शीर्षक रचनामा काठमाडौँस्थित पशुपतिनाथलाई आधार बनाएर सिर्जित यस आलेखमा पनि विभिन्न तर्क र तथ्य दिएर पञ्चमुखी शिवलिङ्ग नेपालमा भएको बताइएको छ ।
‘काठमाडौंमा बाणासुरको राज्य’ शीर्षकमा असुरराज बाणासुरको शासन महाभारतको समयमा रहेको प्रमाणित गर्न खोजिएको छ । राँगाको बलि अन्यत्र दिने चलन नरहेको दाबी पनि गरिएको छ । ‘बाबा मच्छिन्द्रनाथ’ शीर्षक लेखमा गुरु गोरखनाथ र मच्छिन्द्रनाथको काठमाडौँ प्रसंग पनि सान्दर्भिक छ । यसै गरी ‘बाबा गोरखनाथ’ शीर्षकमा लेखिएका सन्दर्भहरुले रोचकता दिएका छन् । आख्यानात्मकता र भावुकता राष्ट्रवादसित बगेका छन् । यसमा पृथ्वीनारायणको सन्दर्भ पनि रोचक छ । ‘योगी नरहरिनाथ’ प्रति अत्यन्त श्रद्धा गरी लेखिएका सन्दर्भहरुको बारेमा सम्भवतः नेपालीहरु पहिलेदेखि नै जानकार रहेका छन् ।
शिवको बासस्थान र पार्वतीको जन्मस्थल नेपाल मानिएको छ शिवपार्वती शीर्षक लेखमा । शिव र पार्वतीसित सम्बन्धित धेरै कुराहरु नेपालमै रहेको यसमा बताइएको छ । विश्वकै पवित्र नदी गण्डकी नेपालकै भन्ने लेखमा गण्डकी नदीलाई हिन्दू धर्मका सबैभन्दा पवित्र नदीमा मानिएको छ । गंगा नदीलाई पनि पवित्र बनाउने शालीग्राम पाउने नदी गण्डकी भएकोले यो सबैभन्दा पवित्र रहेको तर्क लेखकको छ ।
गुन्द्र्कको उत्पत्ति नेपालमै शीर्षक लेखमा गुन्द्रुकको उत्पत्ति र प्रयोग कसरी भएको हो भन्ने कुरा बताइएको छ । यसैगरी बेसारको उत्पत्ति नेपाली वैद्यबाट भन्ने शीर्षकमा नेपाली वैद्यले श्रीलंकामा औषधि उपचार गरेको र नेपालको बेसारले त्यहाँ काम गरेको बताइएको छ ।
नेपालमा यस औषधिको उत्पत्ति र प्रयोगको थालनी भएको तर्क दिइएको छ । जगत् जननी सीतामाता भन्ने शीर्षक लेखमा सीताको जन्म सीतामढीमा भएको अनि बाल्मीकि आश्रम पनि नेपालमै भएको, बाल्मीकि नेपाली भएको तथा सीताले धरणीसमाधि लिएको ठाउँ देवघाट भएको बताइएको छ । कवि वाल्मीकि नेपालकै भन्ने लेखमा विभिन्न सन्दर्भ र तथ्यहरु दिएर ऋषि बाल्मीकिलाई नेपालकै बताइएको छ । वेदव्यास पनि नेपालकै भन्ने लेखमा वेदका रचयिता, महाभारतका रचयिता तथा गीताका रचयिता महर्षि वेदव्यास नेपालकै भएको र उनकै नाउँमा व्यास नगरपालिकाको नामकरण गरिनुका साथै हालसम्म जन्मोत्सव मनाइने गरिएको बताउँदै वेदव्यास नेपालकै दाबी गरिएको छ । राजा श्रीजनक नेपालकै भन्ने लेखमा रामायणमा एक महत्वपूर्ण राजर्षि भन्ने उपनाम पाएका जनकलाई नेपालकै भनिएको छ । झा थर भएका ब्राह्मणहरु राजा जनकले बनाएका ब्राह्मणहरु हुन्, तिनीहरु पहिले तिनीहरु ब्राह्मण नभएको विवादास्पद सन्दर्भ पनि उल्लेख गरिएको छ ।
विश्वको अग्लो चुचुरो नेपालमै भन्ने लेखमा सगरमाथालाई विश्वको अग्लो चुचुरो मानिएको र यो नेपालमा रहेको तथ्यलाई प्रकाशित गरिएको छ । भगवान गौतम बुद्ध नेपालकै भन्ने लेखमा बौद्ध धर्मका प्रवर्तक भगवान बुद्ध नेपाली भएको बताइएको छ । तीर्थस्थल पूरै नेपालमै हुनुपर्ने भन्ने लेखखमा हिन्दू धर्मका सबै तीर्थस्थलहरु नेपालमा नै हुनुपर्ने तर्क गरिएको छ । विराटनगर शीर्षकको लेखमा महाभारतकालीन प्रसंगहरु उल्लेख गरेर विराटनगरको महत्व र ऐतिहासिकताबारे प्रकाश पारिएको छ ।
यसैगरी जनकपुर शीर्षक लेखमा रामायणकालको जनकपुरको पौराणिक महत्व र विभिन्न राजासहित जनकले राज्य गरेको धेरै महत्वपूर्ण रहेको बताइएको छ । त्रेतायुगमा जाम्बवानको, द्वापरयुगमा बाणासुरको शासन रहेको नेपाल खाल्टो यानी काठमाडांै भन्ने लेखमा बताउँदै यसमा भगवान पशुपतिनाथको बास भएको बताइएको छ । बराह क्षेत्र शीर्षक लेखमा भगवान विष्णुका दश अवतारमध्ये बराह अवतार भएको क्षेत्र बराह क्षेत्र नेपालमै भएको बताइएको छ । बराह क्षेत्र सत्ययुगदेखिको पौराणिक महत्वको रहेको देवभूमि हो भन्ने कुरा यसमा बताइएको छ । हलेसी महादेव शीर्षक लेखमा भस्मासुरलाई दिएको बरदानबाट जोगिन शिवजी आफैँ लुकेको ठाउँ हलेसी गुफा भएको बताइएको छ । यो एउटा रोचक मिथकको रुपमा रहेको देखिन्छ ।
देवघाट शीर्षकको लेख निकै महत्वपूर्ण छ । जसको नामबाट भारतवर्ष रहेको मानिन्छ, ती भरतको भूमि देवघाटलाई भनिएको छ यस आलेखमा । देवव्रतबाट भीष्म भएको स्थान पनि यही रहेको बताइएको छ । देवहरुले शवदान गर्ने ठाउँको रुपमा पनि यसलाई मानिएको बताइएको छ । स्वर्गद्वारिका शीर्षकमा प्युठानको स्वर्गद्वारीको महिमागान गरिएको छ र महाभारतको चर्चित मिथकसित पनि जोडिएको छ । गजेन्द्रमोक्ष शीर्षकको लेखमा नारायणी नदीको किनारमा वाल्मीकि आश्रमभन्दा केही टाढा भगवान विष्णुले गोहीबाट हात्तीलाई बचाएको ठाउँ भनिएको छ तर यो ठाउँ अहिले कुन हो भनी खुलाइएको छैन । स्याङ्जामा रहेको आँधीखोलाको महिमागान गर्दै त्रेतायुगमा राजा दशरथले शिकार खेल्दै जाँदा श्रवणकुमारलाई शब्दभेदी वाणले हानेर मारेको र अन्धा–अन्धी मातापिताले श्राप दिएको ठाउँ भनी बताइएको छ । विश्वप्रसिद्ध खप्तडबाबाको बारेमा लेखिएको लेख हो – खप्तडबाबा । खप्तडबाबाको नेपाल सन्दर्भ पनि रोचक रहेको छ ।
नागाबाबा शीर्षकको लेखमा जनकपुर क्षेत्रमा बस्ने गरेका कुनै नागाबाबाको बारेमा बताइएको छ । सिद्ध पुरुष नागाबाबा भविष्य पनि बताउने गरेको उल्लेख छ । राजा महेन्द्रको नागाबाबासितको सन्दर्भको पनि यसमा चर्चा रहेको छ । अयोध्यापुरीबारे अनुसन्धान गर्नुपर्ने शीर्षकको लेखमा चितवनमा अयोध्यापुरी रहेको विषयमा अनुसन्धान गर्नुपर्ने बताइएको छ । रामायणका विभिन्न तर्क र तथ्यहरु उल्लेख गर्दै लेखकले अहिले धेरै चर्चामा रहेको अयोध्यापुरीबारे अनुसन्धान गर्नुपर्ने तर्क प्रस्तुत गरेका छन् । आगोको शक्ति एउटा सुन्दर मिथक हो । भीमकाय मानिस साधारण मानिसमा परिणत भएको सन्दर्भ यसमा रहेको छ । यसपछि मानिस भगवान नभई असल मानिस बन्ने सरल मार्ग भन्ने लेख रहेको छ । अनि शास्त्रमा प्रयोग भएका केही वस्तुको वैज्ञानिक महत्वबारे यसमा जानकारी दिइएको छ ।
नेपाल नै स्वर्ग हो भन्ने कृतिलाई मिथक कथासङ्ग्रह भनिएको छ । मिथक भन्नु आफैंमा कथा होे । यस प्रकारको कथाको सम्बन्ध धर्म वा पुराण वा धार्मिक सन्दर्भसित जोडिएको हुन्छ । यस कृतिमा रहेका अधिकांश रचनाले मिथकीय धर्म निर्वाह गर्न चुकेका छन् । मिथकको पनि कथानकलाई लेखजस्तो सन्दर्भपरक बनाइएको छ । आख्यानलाई पनि लेख बनाइएको छ । अलिकति लामो बनाउन खज्मज्याइएको पनि छ । यसलाई मिथकीय दृष्टिकोणले केही परिष्कारको आवश्यकता औल्याउन सकिन्छ । यति हुँदाहुँदै पनि यो कृति जानकारीका लागि निकै महत्वपूर्ण रहेको छ । वास्तवमा यो एउटा राष्ट्रवादी कृति हो र राष्ट्रियताको दृष्टिकोणले यो कृति विशिष्ट रहेको छ ।
यस देशको हरेक भूभाग पवित्र छ, यहाँको हरेक भागमा देवीदेवताको बास छ । यहाँ भगवान, देवता, ऋषिमुनिहरुको जन्म भएको छ, ज्ञान प्राप्त गरेका छन्, विश्वप्रसिद्ध कालजयी सिर्जनाहरु रचेका छन् र विश्वका सर्वाधिक दुर्लभ सामग्रीहरु यहाँ पाइन्छन् । यी यस प्रकारका राष्ट्रवादका दृष्टान्तहरुले यो कृति ओतप्रोत भएको छ । साँच्चै यो एउटा सङ्ग्रहणीय कृति हो । कृतिकारले जसरी नेपालीत्वको खोजी गरेका छन्, त्यो स्तुत्य छ । नेपाली भएको नाताले कम्तीमा एकपटक हरेकले यस कृतिको अध्ययन गर्नुपर्छ ।