बागमती प्रदेश सरकार विस्तारः को– को भए मन्त्री ?

तु खबर संवाददाता
२०७८ मंसिर २८,मंगलवार १६:०५

मकवानपुर । बागमती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले  नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ५ जना मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका हुन् । क्रमश श्रम रोजगार तथा यातायातमन्त्रीमा घनश्याम दाहाल, खानेपानी उर्जा तथा सिंचाईमन्त्रीमा बसन्तकुमार मानन्धर, कृषि तथा पशुपन्छीमन्त्री बसुन्धरा हुँमागाई, वन तथा वातावरणमन्त्री विशाल खड्का, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल र कृषि तथा पशुन्छी राज्यमन्त्री इन्द्रमाया गुरुङलाई नियुक्त गरेका हुन् ।

मन्त्रीहरु क्रमश खड्का, दाहाल र ढकालको नेकपा माओवादी केन्द्रबाट हुन् भने नेकपा एकीकृत समाजवादीबाट हुँमागाई र मानन्धर मन्त्रि नियुक्त भएका हुन् । त्यस्तै राज्यमन्त्री गुरुङ् पनि एकीकृत समाजवादीबाटै हुन् । बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ६ वटा मन्त्रालयले पूर्णता पाइसकेको छ । भने आज ५ वटा मन्त्रालय थपिँदा मन्त्रालयसंख्या ११ पुगेको हो । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको आजै सपथ हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

यसअघि पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला मन्त्री भएका छन् ।

यस्तै, दोस्रो चरणमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । बागमतीमा मंशिर १५ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार ८ वटा मन्त्रालय फुटाएर चौध वटा मन्त्रालय बनाइएको छ ।