भीमफेदीमा अनावरणको लागि राखिएको गणेशलाल श्रेष्ठको सालिक चोरी
मकवानपुर । लोक कवि गणेशलाल श्रेष्ठको सालिक चोरी भएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर–६ स्थित ज्योति पुस्तकालय परिसरमा अनावरणका लागि स्थापना गरिएको सालिक शनिवार राति चोरी भएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिएका छन् ।
गाउँपालिकाको लगानीमा फोहोरा पार्क र ज्योति पुस्तकालय परिसरमा करिब १ महिना अघि नै सालिक स्थापना गरिएको थियो । परराष्ट्रविद् हिरन्यलाल श्रेष्ठले सो सालिक अनावरण एक कार्यक्रमकाबीच आज अनावरण गर्ने कार्यक्रम तय भएको थियो । तर, अनावरण कार्यक्रम अघि नै सालिक राखिएको ठाउँमा पाइएन । सालिक चोरी भएको स्थानीयले जानकारी दिए ।
सालिकको लागि ३ लाख ५० हजार र अन्य व्यवस्थापन गरी कूल ५ लाख खर्च भएको सालिक अनावरण कार्यक्रम तयारी समितिका संयोजक विष्णुगोपाल महर्जनले जानकारी दिए । भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाले श्रष्टाको सम्मानस्वरुप गर्न लागिएको यस्तो महान कार्यमा अवरोध पुर्याउने जो कोही भएपनि कारबाहीको दायरामा ल्याइने बताएका छन् । उनले तत्काल अनुसन्धान गरी घटनामा संलग्न भएकाहरुलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । श्रेष्ठ दुई थुङ्गा फूल नामक पुस्तकका लेखक हुन् ।