भीमफेदीमै भेटियो गणेशलाल श्रेष्ठको सालिक

तु खबर संवाददाता
२०७८ पुष ५,सोमबार १९:०५

हेटौंडा । भीमफेदी गाउँपालिकामा अनावरणका लागि तयार पारी राखिएको लोककवि गणेशलाल श्रेष्ठको सालिक चोरी भएकोमा सोमबार प्रहरीले फेला पारेको छ । खोज तलासका क्रममा सालिक फालिएको अवस्थामा सोही गाउँपालिकास्थित चिसापानी पुल नजिक फेला परेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

आइतबार लोक कवि श्रेष्ठको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रम तय भएको थियो । त्यसका लागि पराराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ भीमफेदी आएका थिए । उनी सहित साहित्यकारहरु तुल्सी थापा, आरसी रिजाल, नन्दरत्न स्थापित, अग्रज पत्रकार देवप्रसाद श्रेष्ठ कार्यक्रममा सहभागी थिए । आइतबार विहान सालिक अनावरण गर्ने गरी कार्यक्रम तय गरिएकोमा त्यसअघि नै सालिक चोरी भएको थियो ।

चोरी भएको सालिक खोजी गर्न गाउँपालिका अध्यक्ष हिदम लामासमेतका सरोकारवालाले प्रहरीलाई आग्रह गरेका थिए । हिजो आइतबार बिहानदेखि नै सालिकको खोजीका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो ।  घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।अनावरण गर्ने कार्यक्रम अघि नै सालिक चोरी भएपछि त्यसको चौतर्फी आलोचना भएको थियो । गाउँपालिका अध्यक्ष लामाले अपराधीको कुनै रुप नहुने भन्दै दोषीको पहिचान गरिने र कानून बमोजिम कारवाही हुने भन्दै प्रहरीलाई खोजीकार्यका लागि भनेका थिए ।

भीमफेदीका श्रेष्ठ दुई थुङुगा फूलका लेखक हुन् ।