शिक्षा मन्त्रालयद्वारा लेटर ग्रेडिङ निर्देशिका २०७८ जारी
काठमाडौँ । विद्यालय तहमा विद्यार्थीको मूल्याङ्कनमा एकरुपता कायम गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका २०७८ जारी गरेको छ । सो निर्देशिका अनुसार अब कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुको एउटै विधिका आधारमा मूल्याङ्कन हुनेछ ।
निर्देशिकाअनुसार अब एउटा कक्षा पास गरेर अर्को कक्षामा जान विद्यार्थीहरुले न्यूनतम ३५ प्रतिशत अर्थात् जीपीए १.६ (डी) ग्रेड प्राप्त गर्नुपर्नेछ । ३५ प्रतिशत भन्दा कम प्राप्ताङ्क ल्याउनेलाई ‘एनजी’ उल्लेख गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । सिकाइ उपलब्धिको मापनबाट प्राप्त अङ्कगत स्तरलाई आठ वटा अक्षरगत स्तरमा सूचित गरिएको छ ।
अक्षरगत स्तरमा ९० प्रतिशत भन्दा माथि प्राप्ताङ्क ल्याउने विद्यार्थीलाई सर्वात्तम (एप्लस) समूहमा राखिएको छ । त्यस्तै ९० प्रतिशत भन्दा कम र ८० प्रतिशत भन्दामाथि प्राप्ताङ्क प्राप्त गर्नेलाई अतिउत्तम (ए), यसैगरी ८० प्रतिशत भन्दा कम र ७० प्रतिशत भन्दा मागि प्राप्ताङ्क ल्याउने विद्यार्थीलाई उत्कृष्ट (बीप्लस)मा सूचित गरिएको छ ।
त्यस्तै ७० भन्दा कम र ६० प्रतिशत भन्दा माथि प्राप्ताङ्क ल्याउने विद्यार्थीलाई उत्तम (बी) अक्षरगत स्तरमा राखिएको छ । ६० भन्दा कम र ५० भन्दा माथि प्राप्ताङ्कक ल्याउनेलाई सन्तोषजनक (सीप्लस), ५० भन्दा कम र ४० प्रतिशत भन्दामाथि प्राप्ताङ्क प्राप्त गर्नेलाई ग्राह्य (सी), ४० प्रतिशत भन्दा कम र ३५ प्रतिशत भन्दा माथि प्राप्ताङ्क ल्याउनेलाई आधारभूत (डी) र ३५ प्रतिशत भन्दा कम प्राप्ताङ्क ल्याउने विद्यार्थीलाई अवर्गीकृत (एनजी) स्तरमा राखिने निर्देशिकामा उल्लेख गरिएको छ ।