राज्यमन्त्री प्रजाद्वारा हेटौंडाको ज्योति माविको नवनिर्मित भवन उद्घाटन

तु खबर संवाददाता
२०७८ पुष १३,मंगलवार ०९:२०

मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले हेटौंडाको एक विद्यालयको नवनिर्मित विद्यालय भवन उद्घाटन गरेका छन् । मन्त्री प्रजाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ स्थित ज्योति माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरेका हुन् । जाइकाको सहयोगमा निर्मित ९ कोठे भवन सोमबार उद्घाटन गरिएको हो ।

राज्यमन्त्री प्रजाले सोही माविमा सञ्चालित राष्ट्रिय चित्रकला कार्यशालाको पनि समापन गरेका थिए । विद्यालयमा ५ दिनसम्म चित्रकला कार्यशाला भएको थियो । कार्यक्रम ज्योति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा सिएलपिआइयुका प्रोजेक्ट डाइरेक्टर रामशरण सापकोटा, हेटौंडा–१८ का वडाध्यक्ष अनिल कुमार बानियाँ, दिनानाथ गौतम, हेटौंडा उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, ललितकलाकर्मी राजन काफ्ले, लक्ष्मण भुजेललगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरु, सस्थापकहरु, जग्गा दाताहरु, विद्यालयका पूर्व अध्यक्षलगायतको आतिथ्यता रहेको थियो ।