आईपीओ निष्कासनका लागि २८ वटा कम्पनीको आवेदन

काठमाडौं । विभिन्न क्षेत्रका दुई दर्जनभन्दा बढी कम्पनीहरूले साढे ७ अर्ब बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डमा २८ वटा कम्पनीले कुल ७ अर्ब ३९ करोड ६६ लाख ४०० रुपैयाँ बराबरको ६ करोड ७२ लाख ४६ हजार चार कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएका छन् ।
तीमध्ये १८ वटा हाइड्रोपावर, दुई इन्स्योरेन्स, ६ माइक्रोफाइनान्स र दुई वटा अन्य कम्पनी रहेको बोर्डले जनाएको छ । बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीहरूको सेयर निष्कासन प्रक्रिया सुरु हुनेछ । तर, चार महिनायता बोर्डको अध्यक्ष रिक्त हुँदा सेयर निष्कासनका लागि स्वीकृति हुन सकेको छैन ।
तत्कालीन बोर्ड अध्यक्ष भीष्म ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयर भित्री कारोबार गरेको खुलेपछि सरकारले उनलाई असोज दोस्रो साता सरकारले बर्खास्त गरेको थियो । त्यसपश्चात बोर्डका अध्यक्ष चुनिएको छैन । पछिल्लो समय सर्वसाधारणमा सेयरमा लगानी गर्न आकर्षित भएसँगै साधारण सेयरमा उच्च आवेदन हुने गरेको छ । यसैगरी प्रविधिको विकासका कारण घरैबाट समेत आवेदन दिन पाउने भएकाले पनि साधारण सेयरमा उच्च आवेदन पर्ने गरेको छ ।