राजसंस्था नभए नेपाल विलय भएर जाने खतरा : अध्यक्ष लिङ्देन

तु खबर संवाददाता
२०७८ पुष १४,बुधबार १५:४०
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था नभए नेपाल विलय भएर जाने खतरा रहेको बताएका छन् । बुधबार स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको बताएका हुन् ।

अध्यक्ष लिङ्देनले देशलाई अन्य देशको खतराबाट टार्न समेत राजसंस्था अनिवार्य रहेको दाबी गरे । उनले राजा वीरेन्द्रले देशलाई अन्य देशबाट झुक्न नदिन २०४६ सालमा राजनीतिक दलका नेताहरुसँग सम्झौता गरेर संवैधानिक राजाको रुपमा आफूलाई उभ्याएको बताए । उनले स्वर्गीय राजा वीरेन्द्र जनप्रेमी र देशभक्त राजा भएको समेत उल्लेख गरे ।

अध्यक्ष लिङदेनले भने, ‘अहिले पछिल्लो दिनमा त्यहीँ खतरा हाम्रो देशले बोकिराखेको छ । त्यसका लागि नेपालको सन्दर्भमा राजसंस्थाको आवश्यक्ता छ भनेर मैले भन्ने गर्छु ।’ उनले राजनीतिक दलका नेताहरु भन्दा राजा बढी देशभक्त हुन्छन् भन्ने कुरालाई राजा वीरेन्द्रले प्रमाणित गरेकासमेते बताए ।