नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न पुनः आवेदन माग

तु खबर संवाददाता
२०७८ पुष १५,बिहीबार १६:१६

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नको लागि पुनः आवेदन माग गरेको छ । बोडले अध्यक्ष नियुक्तिको लागि गठन भएको सिफारीस समितिले आज एक सूचना जारी गरी पुनः आवेदन माग गरेको हो ।

यसअघिको आवेदन रद्द भएकाले पुरानाहरुले पुनः आवेदन दिन पर्ने समितिले जनाएको छ । यसअघि अर्थ मन्त्रालयले समिति बनाएको र सो समितिमाथि कानुनी प्रश्न उठेपछि मन्त्रिपरिषद्को बैठकले अर्को समिति बनाएको थियो । मन्त्रालयका अनुसार, हाल बनेको समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र विज्ञ सदस्यको रुपमा डा. जीवनाथ धिताल रहेका छन् ।

यस अघिको समितिमा विज्ञ सदस्यको रुपमा प्रा. डा. नारायण पौडेल रहेका थिए । समितिले १५ दिन अर्थात् पुस २९ गतेभित्र आवेदन दिन आग्रह गरेको छ । साथै यसअघि आवेदन दिएकाले पनि नयाँ सूचना अनुसार फेरी आवेदन दिनुपर्ने भएको छ ।

अघि अघि आवेदन दिएकाले आवेदन फिर्ता लिन चाहेमा १५ दिन भित्र आवेदन दिएर फिर्ता गर्न सकिने र आवेदन फिर्ता गर्दा राजस्व पनि फिर्ता हुने अर्थ समितिले जनाएको छ । समितिले अध्यक्ष नियुक्ति गर्नको लागि योग्यता पुगेका कम्तीमा तीन जना व्यक्तिको नाम सिफारिस गर्ने छ । ति मध्येबाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई अध्यक्ष नियुक्त गर्ने ब्यबस्था रहेको छ ।