कांग्रेस मकवानपुरको सचिव पदमा मेरो उम्मेदवारी रहन्छ– सापकोटा

तु खबर संवाददाता
२०७८ पुष १७,शनिबार १६:४०

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मकवानपुर जिल्ला अधिवेशनको चुनावी सरगर्मी सुरु भएको छ । अधिवेशनले उत्साह छाएको बेला जिल्ला नेतृत्व, पदाधिकारीलगायत विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालिएको छ । विगतमा भन्दा यस बर्ष युवा पुस्ताको सक्रियता बढेको छ । कांग्रेस मकवानपुरले १०२ वटै वडा, १० वटा उपमहानगर/नगर/पालिका, ४ वटा प्रादेशिक र २ वटा संघीय तहको अधिवेशन सम्पन्न गरिसकेको छ । मकवानपुरको अधिवेशन भने पुस २७ गतेका लागि तय भएको छ ।

यसैबीचमा कांग्रेस मकवानपुर क्षेत्र नम्वर–२ का निवर्तमान संघीय सभापति यतिराज सापकोटाले आसन्न अधिवेशनमा जिल्ला सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । २०५६ सालदेखि कांग्रेस रहेर राजनीतिमा निरन्तर सक्रिय रहेका उनले जिल्ला तहको निर्वाचनमा सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

२३ बर्षको उमेरमा कांग्रेसको युवा संगठन नेपाल तरुण दल गाउँ समितिको सदस्य भएका उनले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर लामो समय काम गरेको अनुभव बटुलेका छन् । २०३३ साल असोज २० गते बुवा कृष्णप्रसाद सापकोटा र आमा किराँतीकुमारी सापकोटाको सन्तानको रुपमा जन्मिएका यतिराजले स्नातकसम्मको अध्ययन गरेका छन् ।

समाजमा भएका विकृति विसंगति, विभिन्न हिंसा र अन्यायपूर्ण गतिविधिको अन्त्य गर्दै सभ्य र समृद्ध समाज निर्वाण गर्नुपर्छ भन्ने मान्यताले उनलाई राजनीतिमा निरन्तर क्रियाशील रहन प्रेरित गरिरह्यो । समाज रुपान्तरणका लागि राजनीतिमार्फत् केही गर्नुपर्छ भन्ने धारणा बोकेर अघि बढ्दै गर्दा २०६४ सालमा भएको ११ औँ अधिवेशनमा उनी कांग्रेसको गाउँ इकाइ समितिको प्रवक्ता भए । १२ औँ अधिवेशनबाट भने उनी गाउँ इकाइ समितिको सचिव चुनिए । उनले तरुण दल मकवानपुरको सचिवको जिम्मेवारी पनि सम्हाले । १३ औँ अधिवेशनबाट मकवानपुर क्षेत्र नम्वर २ को संघीय सभापति चिर्वाचित भइ कुशलतापूर्वक काम गरे ।

२०६४ मै चुनाव प्रचारप्रसारको क्रममा सापकोटा अपहरणमा परे । माओवादीले उनलाई एक रात नियन्त्रणमा लिएपछि छाडेको थियो । ‘राइगाउँमा कांग्रेसको कार्यक्रम थियो । हेटौंडाबाट जाँदा नै माओवादीले हाम्रा झण्डा भाँचेर कार्यक्रममा जान अवरोध गरेको थियो । जसोतसो कार्यक्रम सम्पन्न गरियो, फर्कने बेलामा म र अरु २ जना साथीहरुलाई माओवादीले अपहरण गर्यो ।’ उनले भने । ‘हामी मोटरसाइकलमा थियौँ, माओवादीले गोठखोला भन्ने ठाउँमा आइपुगेपछि हामीलाई नियन्त्रणमा लियो । हाम्रो मोटरसाइकल, मोबाइल र पर्स उनीहरुले नै राखे । रातभरी भिजेर बस्यौँ, भोलिपल्ट विहान हामीलाई छाडियो, हामी भाग्दै भाग्दै हेटौंडा आयौँ ।’ उनले स्मरण गरे ।

त्यसअघि २०६१ मा तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर ‘कु’ गरेका थिए । त्यतिबेला तानाशाही प्रवृत्ति र निरंकुश राजतन्त्र तथा केन्द्रीकृत शासन व्यवस्थाकाविरुद्ध विभिन्न चरणमा आन्दोलन चर्किएको थियो । उक्त आन्दोलनमा सापकोटा अग्रभागमा थिए । हेटौंडामा बन्द भएका उद्योग पुर्नस्थापित गराउने उदेश्यका साथ उनकै नेतृत्वमा कांग्रेसले विभिन्न आन्दोलन पनि गरेको थियो । सापकोटाले विभिन्न समयमा पार्टीको जनजागरण अभियानको समेत नेतृत्व गरेका छन् ।

राजनीतिसंगै सापकोटाको उपस्थिति सामाजिक क्षेत्रमा पनि उत्तीकै छ । सचेत बचत तथा सहकारी संस्थाको अध्यक्ष, घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको सचिव, एकीकृत ग्रामिण विकास सेवा मकवानपुरको कोषाध्यक्ष भएर उनले नेतृत्व गरिरहेका छन् । उनी सारदा माविको सल्लाहकारसमेत हुन् ।

आफ्नोे चाहाना कांग्रेस मकवानपुरको कुशल एवम् व्यवस्थित संगठन विस्तार गर्ने, गुट उपगुटको राजनीति अन्त्य गर्दै पार्टी र कार्यकर्ताप्रति इमान्दार नेतृत्व चयन गर्ने भएको उनको भनाई छ । पार्टीको जिल्ला सचिवालयलाई प्रविधियुक्त र १०२ वटै वडा कार्यसमितिलाई प्रविधिमैत्री बनाउने सापकोटाको योजना छ । पार्टी कार्यालयबाट एकैसाथ वडास्तरसम्म निर्देशन, जानकारी पठाउन सकिने र वडास्तरबाट पनि गुनासो वा केही सुझाव छन् भने तत्कालै जिल्ला सचिवालयमा प्राप्त गर्न सकिने व्यवस्था मिलाउने उनी बताउँछन् ।

क्रियाशील सदस्यहरुलाई क्षमता र दक्षताअनुसार परिचालन गर्ने, भातृ संगठनहरुलाई थप गतिशील र मजबुद बनाउने, विषयगत, भातृ तथा सुभेच्छुक संस्थाहरुको समस्या समाधानको पहल गर्ने, पार्टीको विधानले निदृष्ट गरेअनुसार सबै तहको नियमित बैठक संचालन र अभिलेखिकरण गरी त्यसको कार्यान्वयनको चरणमा लैजान समन्वयकारी भूमिका निर्वाह गर्ने तथा तरुणलाई स्वावलम्बी तथा उत्पादनमा केन्द्रीत बनाउने सापकोटाको भनाई छ ।

विशेषगरी आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई वडा, पालिका, प्रादेशिक क्षेत्र तथा संघीय क्षेत्रमा जिताउन डटेर लाग्ने उनले बताए । कांग्रेसलाई अझ बढी लोकप्रिय बनाउन, अझ बढी जनताको भरोसा र विश्वास जित्नको लागि आधार तयार गर्न दत्तचित्तले सदैव लागिपर्ने सापकोटा बताउँछन् ।