मकवानपुरमा कोरोनाविरुद्ध खोप अभियान संचालन गरिने
मकवानपुर । जिल्ला खोप समन्वय समिती मकवानपुरको बैठकले जिल्लामा खोप अभियान संचालन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरमा आज बसेको बैठकले जिल्लामा कोभिडविरुद्ध खोप लगाउने अभियानलाई तीव्र रुपमा अगाडि बढाउने विषयमा छलफल भएको छ ।
कोरोना संक्रमणको दर फेरी बढ्न थालेपछि खोप लगाउन बाँकी रहेका जिल्लावासीहरुमा खोप लगाउने अभियानलाई अगाडि बढाउन लागिएको हो । जिल्लामा ५३ प्रतिशतले मात्र कोभिडविरुद्ध खोप लगाएको तथ्याङ्क रहेकोले बाँकी रहेकाहरुलाई पनि अनिवार्य खोप लगाउन आग्रह गर्दै खोप अभियान महिना संचालन गर्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए । जिल्लाको मनहरी, राक्सिराङ्, कैलास, बकैया गाउँपालिकामा अधिकांशले खोप नलगाएको देखिएकाले उक्त पालिकाहरुमा विशेषगरी खोप अभियान संचालन गर्ने कार्यक्रम अगाडि बढाउने बताइएको छ ।
बैठकले मकवानपुरका स्थानिय तहहरुमा खोप कार्यक्रमलाई थप प्रभावकारी ढंगले अघि बढाउने निणर्य गरेको हो । विशेष गरी विकट स्थानिय तहहरुमा अपेक्षाकृत खोप कार्यक्रम सफल नभइरहेको सन्दर्भमा भोलि विहिबारबाट जिल्लाको राक्सिराङ , कैलाश , मनहरी ,बकैया लगायतका गाउँपालिकाहरुमा विशेष खोप अभियानको रुपमा कार्यक्रम सञ्चालन गर्ने, स्थानिय तहका विभिन्न सरकारी कार्यालय, विद्यालय वा मानिसहरुको भिडभाड हुने स्थानहरुमा हेल्थ डेस्क स्थापना गर्ने तथा खोेप नलगाएका स्थानियहरुलाई खोप लगाउन उत्प्रेरित गर्ने लगायतका निर्णयहरु बैठकबाट गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
प्रमुख जिल्ला अधिकारी पाण्डेको अध्यक्षतामा बसेको बैठकमा खोप समन्वय समितीका सदस्यहरु ,जिल्लाका शुरक्षा निकायका प्रमुखहरु, विश्व स्वास्थ्य संगठनका प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो ।