द भ्वाइस किड्सको उपाधि मकवानपुरका उप्रेतीलाई

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ निवासी जेनिश उप्रेतीले बाल गायन रियालिटी शो द भ्वाइस किड्सको उपाधि हात पारेका छन् । शनिबार राति उप्रेतीले ग्रान्ड फिनालेमा बाँकी ७ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । टीम प्रमोदका उप्रेतीले टाइटल जितेसँगै नगद १५ लाख रुपैयाँ हात पारे ।
उप्रेतीसँगै फिनालेमा टीम प्रमोदकै रुक्सना लिम्बु, टीम राजुबाट सुप्रिम मल्ल ठकुरी र पासाङ डिक्की शेर्पा, टीम प्रविशाबाट अनुजा कडरियार सुसमी गुरुङ, टिम मिलनबाट मिन्छामा राई र नुमा राईले प्रतिष्पर्धा गरेका थिए । द भ्वाइस किड्स नेपालको पहिलो सिजनको डिजिटल अडिशनमा सहभागी २० हजारले आवेदन दिएका थिए । सोमध्येबाट एक सय जनालाई ब्लाइन्ड अडिसनमा सहभागी गराइएको हो । ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिएका थिए । त्यसबाट लाइभका लागि २४ जना छानिए । अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका थिए ।