हेटौंडाका मेडिकल तथा फार्मेसीमा प्रशासनको अनुगमन
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरको अगुवाइमा हेटौंडामा सञ्चालित मेडिकल, फार्मेसी र पोलिक्लिनिकहरुको मंगलबार अनुगमन गरिएको छ । अनुगमन टोलीले स्वास्थ्य सामग्री माक्स, सेनिटाइजरलगायत अन्य औषधीको मूल्य, दर्ता, नविकरण, सेवा अनुसारका दक्ष कर्मचारीबारे अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको नेतृत्वमा गएको अनुगमन टोलीले हेटौंडा १० राप्तिरोडमा रहेको विशेष फार्मेसी बन्द गराएको छ । सम्बन्धित फर्मासिस्ट नभई अरु स्वास्थ्यकर्मीले नै औषधी विक्रीवितरण गरिरहेको फेला परेपछि फार्मेसी बन्द गर्न लगाइएको हो । अन्य अधिकांश मेडिकलहरुमा माक्स र सेनिटाइजरको मूल्यसूचि राख्न आग्रह गरिएको छ ।
करिब आधा दर्जन भन्दा बढी मेडिकलहरुमा गरिएको अनुगमनमा माक्स ५ रुपैयाँमा विक्री गरिनुपर्ने, सेनिटाइजर, अक्सिमिटरलगायतका स्वास्थ्य सामाग्रीको मूल्यसुची राखी विक्री वितरण गरिनुपर्ने सुझाव दिइएको छ । सम्बन्धित व्यक्तिले मात्रै औषधि विक्री गर्न समेत आग्रह गरिएको छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपाने, स्वास्थ्य कार्यालय मकवानपुरका क्षय÷कुष्ठ रोग निरिक्षक ठाकुर पौडेल, मकवानपुर उद्योग वाणिज्य संघका सचिव माधव ज्ञवाली, साना तथा घरेलु उद्योग कार्यालयका लेखमान राउत, उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष बासु खतिवडा, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक चुडाकुमारी खड्कालगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।