सर्जिकल मास्कमा कालोबजारी गर्ने हेटौंडाका ३ जनामाथि मुद्धा चलाइयो
मकवानपुर । स्वास्थ्य सुरक्षा सामग्री मास्कको कालोबजारी गर्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरी कालोबजारी ऐन अन्तरगत मुद्धा चलाएको छ । एक रुपैयाँ हाराहारी खरिद मूल्यपर्ने सर्जिकल मास्कको १० रुपैयाँ असुल गर्दै उपभाक्ता ठग्ने ३ वटा फार्मेसीका संचालकमाथि प्रहरीले मुद्धा चलाई आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उपस्थित गराउने तयारी गरेको छ ।
प्रहरीले मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१ स्थित अन्सारी फार्मेसीका संचालक साजित अन्सारी र सक्षम औषधि पसलका संचालक बब्लु पाण्डेलाई बढि मूल्यमा मास्क विक्रि गरेको अभियोगमा पक्राउ गरेको थियो । त्यस्तै बुधबार प्रहरीले हेटौंडा–१ स्थित सम्पूर्ण फार्मेसी संचालक ३२ बर्षीया सजिता पोखरेललाई पक्राउ गरेको थियो । उनीहरुलाई आज जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रशासनले थप अनुगमन गरी मास्कको कालोबजारीविरुद्ध अभियान चलाउने जनाएको छ । कोरोना महामारीको समयमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री मास्कको कालोबजारी हुन नदिन प्रशासन कार्यालयले अभियान तीव्र पारेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तु खबरलाई बताए । होलसेलमा एक रुपैयाँ हाराकारी पर्ने मास्कको १० रुपैयाँ लिन नपाइने उनको भनाई छ ।
प्रशासनको आदेशपछि बढि मूल्य लिने व्यापारीहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । औषधी पसल, किसाना पसललगायत व्यापारीहरुले मास्कको १० रुपैयाँ असुल गरिरहेको गुनासो प्रशासन कार्यालयमा पुगेको छ । सबै पसलधनीहरुलाई सामान्य मास्कको अधिकतम् पाँच रुपैयाँमा बिक्री गर्न आह्वान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । प्रशासनले अत्यावश्यक मास्कको कालोबजारी नगर्न आह्वान गर्दै त्यसो गरिएको पाइएमा कडा कारवाही गर्नेे भन्दै सबैलाई सचेत गराएको छ ।
तीन लेयरसम्मको सर्जिकल मास्कको होलसेल मूल्य एक रुपैयाँ हाराहारी छ । बाणिज्य ऐनमा अधिकतम् २० प्रतिशतमात्रै मुनाफा लिन पाइने भएपनि हेटौडा बजारसहित मकवानपुरका अधिकांश शहरहरुमा १० रुपैयाँमा बिक्री वितरण भइरहेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मास्कको बढि मूल्य लिएर ठगी गरेको फेला परेमा उजुरी गर्न आग्रह गरेको छ ।