बागमती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने
![](https://www.tukhabar.com/wp-content/uploads/2022/01/krishna-khanal-copy.jpg)
मकवानपुर । बागमती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने भएको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार गठन भएदेखि हालसम्मको समिक्षा गर्दै श्वेतपत्र जारी गर्न निर्णय गरेको हो । प्रदेश सरकारले हालसम्म गरेको कामको अनुभवसहित प्रगति, कमिकमजोरी र वर्तमान अवस्थालाई समेटेर श्वेतपत्र जारी गरिने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा अनालले जानकारी दिए ।
श्वेतपत्र जारी गर्न आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलेको संयोजकत्वमा श्वेतपत्र लेखन समितिसमेत निर्माण गरिएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति पनि निर्माण गरेको हो । यसैगरी मन्त्रीहरु नै संयोजक रहने गरी राजनीतिक, प्रशासन तथा विधेयक, आर्थिक सामाजिक तथा पूर्वाधार समिति वैठकले गठन गरेको छ ।
मन्त्रिपरिषद्को वैठकले मन्त्रालयहरुको कर्मचारी संगठन संरचना र दरबन्दी समेत स्वीकृत गरेको छ । प्रादेशिक संरचना निर्माण गर्न प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा जग्गा पहिचान समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन बुझाउन सातदिनको समय सीमा दिइएको छ । वैठकले प्रदेशको वित्तिय सुशान जोखिम मूल्यांकन कार्यविधि–२०७८ समेत स्वीकृत गरेको छ ।