बागमती प्रदेशः कर्मचारी व्यवस्थापनका लागि मन्त्रालयगत दरवन्दी निर्धारण
![](https://www.tukhabar.com/wp-content/uploads/2022/01/krishna-khanal-copy.jpg)
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले मन्त्रालय पुनःगठन पछि भएको कर्मचारी अभावको समस्यालाई समाधान गर्न कर्मचारीको संख्या निर्धारण गरी सांगठनिक संरचना निर्माण गर्ने भएको छ । उक्त सांगठनिक संरचनामा ३ हजार ७ सय ६४ जना कर्मचारी प्रदेश सरकार अन्तर्गत आवश्यक रहेकोले मन्त्रालयगत रुपमा संख्या निर्धारण गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।
विगतमा पनि प्रदेश सरकार मातहतमा थोरै कर्मचारी रहेकाले त्यसमा कुनै परिवर्तन नभएको हाल त्यसैबाट कामकाज गरिरहेको र कर्मचारी पदपूर्तिका लागि छिट्टै नै निजामती कर्मचारी नियमावलि ल्याउनका लागि संघीय सरकारसंग पहल गर्ने तथा प्रदेश लोक सेवा आयोगलाई सक्रिय बनाएर कर्मचारी व्यवस्थापन गर्ने निर्णय गरेको उनले बताए ।
उनका अनुसार मन्त्रालयहरु पुनःगठन भएपछि नयाँ कर्मचारी संरचना तयार पार्दा सविकका मन्त्रालयहरुमा कर्मचारी दरवन्दी यथावत रहने निर्णय भएकोे छ । वन तथा वातावरण मन्त्रालयमा प्रस्तावित दरवन्दी ३८ जना, उद्योग वागिज्य तथा आपूर्ति मन्त्रालयमा २९ जना, संस्कृति तथा पर्यटन मन्त्रालयमा २५ जना, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ५१ जना, भूमि व्यवस्था सहकारी विकास तथा गरिवी निवारण मन्त्रालयमा ३३ जना, भौतिक पूर्वाधार विकास मन्त्रालयमा ४० जना, श्रम रोजगार तथा यातायात मन्त्रालयमा ३५ जना, खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयमा ३६ जना, सामाजिक विकास मन्त्रालयमा ३२ जना र युवा तथा खेलकुद मन्त्रालयमा १६ जना कर्मचारीको दरवन्दी कायम गरिएको उनले बताए ।