खोप लिएर चेपाङ बस्ती पुगे स्वास्थ्यमन्त्री लामा
मकवनपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा कोरोनाविरुद्धको खोप अभियान लिएर मकवानपुरको चेपाङ बस्तीपुगेका छन् । मन्त्री लामा खोप अभियान लिएर शनिवार राक्सिराङ गाउँपालिका वडा नम्वर ५ ताङराङ पुगेका हुन् । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा रहेका अतिसिमान्तकृत चेपाङ समुदायमा खोप लगाउने दर कम पाइएपछि समुदायमै खोप अभियान संचालान गर्न मन्त्री लामा गाउँमै पुगेका हुन् ।
मन्त्री लामाले १३ जिल्लाका अतिसिमान्तकृत, पिछडिएको समुदाय र खोप लगाउने दर कम भएको क्षेत्रमा समुदायस्तरमा खोप अभियान संचालन गरिएको बताए । खोप लगाउन स्वास्थ्य संस्थामा पुग्न नसक्नेहरूलाई समुदायमै पुगेर खोप लगाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिए । त्यसैगरी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले खोपले कोरोनाको जोखिम न्यूनीकरणमा सहयोग गर्ने भएकाले निर्धक्क भएर खोप लगाउन आग्रह गरे ।
खोप लगाउने दर कम रहेको राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङ, तामाङ एवं धार्मिक अगुवा, टोल विकास संस्था लगायतको समन्वयमा खोप अभियान समुदायमा खोप लगाउने दर बढाउन प्रदेश सरकारको निर्देशन अनुसार अभियान संचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईँले बताए । अभियानमा राक्सिराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङ, चेपाङ अगुवा एवं धार्मिक अगुवाहरूको सहभागी रहेको थियो । सो अभियानमा एकैदिन एक हजारभन्दा बढि सर्वसाधारणले खोप लगाएका हुन् ।