अबदेखि लण्डन दूतावासमा कार्ड भुक्तानीमात्रै

लण्डन । लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागु हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ । दूतावासले सोमबार एक सूचना जारी गरी सोको जानकारी गराएको हो । जारी सूचनामा दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्य रूपमा बैंक कार्ड (भिजा डेबिट–क्रेडिट, मास्टर कार्ड डेबिट–क्रेडिट, सबै मेस्ट्रो कार्ड) मार्फत लिइने उल्लेख गरिएको छ ।
दूतावासले यसअघि पासपोर्ट, भिसालगायत कामका लागि लिने सेवाशुल्क नगद कारोबार मात्रै गर्दै आइरहेको थियो । कार्ड पेमेन्ट स्वीकार नगर्दा सेवाग्राहीले झन्झट व्यहोर्नुपरेको गुनासो आएका कारण कार्ड भुक्तानी लागु गर्न थालिएको दूतावासले जनाएको छ । बेलायतमा लागभग सबै आर्थिक कारोबार कार्डमार्फत नै हुने र काम छिटो पनि हुने हुँदा यो नयाँ व्यवस्था संचालनमा ल्याउन लागेको जनाइएको छ ।