नेपाली विद्यार्थीद्वारा जापान दूतावास अगाडि धर्ना

तु खबर संवाददाता
२०७८ माघ १४,शुक्रबार १७:४०

काठमाडौं । जापान जान रोकेको भन्दै नेपाली विद्यार्थीहरुले शुक्रबार काठमाडौंस्थित दूतावास अगाडि धर्ना दिएका छन् । आफुहरुलाई अध्ययनको लागि भिसा प्रदान गरिसकेपछि पनि लामो समयसम्म रोकेकोप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरुले काठमाडौंको पानी पोखरीस्थित दूतावास अगाडि धर्ना दिएका हुन् ।

विद्यार्थीहरुले प्रतिबन्ध फुकुवा गर, आखिर कहिले खुल्छ जापानलगायत नारा लेखिएका प्लेकार्ड बोकेर दूतावास अगाडि शान्तिपूर्ण धर्ना गरेका थिए । धर्नामा सहभागी भएका विद्यार्थीले पछिल्लो समय जापानले विद्यार्थीबाट इन्टेक अनुसारको शुल्क लिने तर प्रवेश प्रतिबन्ध कायम नै राखेर विदेशी विद्यार्थीको शैक्षिक करियरमाथि खेलबाड गरेको आरोप लगाएका छन् ।

कोरोना संक्रमणको खतराको कारण देखाउने विगत दुई वर्षदेखि नयाँ विद्यार्थीलाई प्रवेश नदिइएको विद्यार्थीले जनाएका छन् । उनीहरुका अनुसार रसिया, जर्मनी, बेलारुस, चीन, मलेसिया लगायतका अन्य २४ देशका विद्यार्थीहरुले पनि प्रतिबन्ध खुलाउन माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।