वीरगञ्जमा कोरोनाका कारण थप दुई जनाको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगर बस्ने ७३ वर्षीय र बाराको कलैया उपमहानगरपालिका–५ का ६५ वर्षीय पुरुष रहेका छन् । दुवै जनाले कोभिड–१९ विरुद्धको खोपको दुई मात्रा नै लगाएका थिए ।
विभिन्न दीर्घ रोग भएका उनीहरुको मृत्यु कोभिड निमोनियाका कारण भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए । ७३ वर्षीय वृद्धको माघ १४ गते शुक्रबार गरिएको एन्टिजेन परीक्षण पोजेटिभ देखिएको थियो । यस्तै, कलैया निवासी ६५ वर्षीय पुरुषको बिहान साढे ७ बजे मृत्यु भएको छ । माघ १४ गते शुक्रबारनै कोरोना संक्रमण पुष्टी भई अस्पताल भर्ना भएका उनी उच्च रक्तचापका बिरामी थिए । शरीरको दायाँतर्फ प्यारालाइसिस भइसकेको थियो । उपचारका क्रममा उनमा गम्भीर किसिमको कोभिड निमोनिया देखिएको थियो ।