मध्यम वर्गीय परिवारको विशेषताः सन्तानप्रतिको महत्वकांक्षा
मध्यम वर्गीय परिवार जसको आफ्नै विशेषता हुन्छ । यस्तो परिवारको मुख्य आधार भनेकै कृषि पेशा हो । त्यसपछि बैदेशिक रोजगारी, नेपालमै सानो नोकरी वा जीवनयापनको लागि परम्परागत व्यवसाय । यस्तो परिवारमा एउटा समस्याको पूर्ण रुपले सामाधान भइसकेको हुँदैन अर्को समस्या आइपर्छ । यस्ता परिवारमा भगवानको कृपा, हौसला र धैर्यता भने हुन्छ । समस्यासंग लड्ने अदभुत शक्ति पनि । यिनिहरु हरेक कदममा समस्यासंग लडिरहेका हुन्छन् । लड्दै गर्दा मुटुको एउटा कुनामा आशा पालिरहेका हुन्छ्न्, सन्तानले हरेक दुखको निवारण गर्नेछ भनेर ।
व्यक्ति व्यक्ति मिलेर परिवार बन्छ, परिवारहरु मिलेर समाज । हरेक समाजमा फरक स्तर भएका परिवारहरु हुन्छन् । समाज चलाउन एउटा साझा मापदण्ड बनाइएको हुन्छ । राम्रो आम्दानी भएकाले त मापदण्डभन्दा बढी नै गर्ने गर्छन्। मध्यम वर्गको परिवारलाई भने सामाजिक रिती–रिवाजले पनि सदैव पिरोलिरहेको हुन्छ ।
यी मापदण्ड पुरा गरेन भने समाजमा अपहेलित हुनुपर्ला भन्ने डर, ऋण नै लिएर पनि यी मापदण्ड पुरा गरौँ न त भन्दा थोर बहुत उब्जाइ रहेको खेत नै बेचिने डर । यस्तो डर हटाउन, सामाजमा आफ्नो अस्तित्व स्थापित गर्न, समाजमा आफ्नो हैसियत कायम गर्न लाखौं बैदेशिक रोजगारीमा गएका छन् । हजारौं शरिरको पसिनालाई गंगाजल झै पवित्र मानेर दिनरात खटिइरहेका छन् । रुपैयाँ आर्जन गर्नको निम्ति धेरै दुःख गरिरहेका हुन्छन् । कमाउने कार्य सधैं भइरहेको हुन्छ । तर, राम्रो बचत भने कहिल्यै भइरहेको हुँदैन । छोरा पढाउँदा ऋण लिनुपर्ने, छोरीको बिहेमा खेत बेच्नुपर्ने, परिवार बिरामी हुँदा गाइबस्तु बेच्नुपर्ने बाध्यता यस्तो परिवारमा कायमै छ ।
धर्म जीवन जिउने शैली हो । धर्म कसैको सापेक्ष चल्दैन । यो निरपेक्ष हुन्छ । धर्मले गरिब, मध्यम वर्गीयलाई पनि धनी बमोजिमकै बाँच्ने अधिकार दिएको छ । तर, हाम्रो समाजमा धर्मलाई यसरी कु–ब्याख्या गरिएको छ कि त्यो मध्यम वर्गीयको लागि अभिशाप बन्न पुग्छ । धर्म आफैँमा गतिमान हुन्छ । तर, यसलाई केही कथित समाजका भलाद्मीहरुले स्थिर बनाई दिएका छन् । त्यसलाई कु–प्रथाको रुपमा लाद्ने काम गरिरहेका छन् ।
जसका कारण गरिब तथा मध्यम वर्गीलाई हिनताबोध भइरहेको हुन्छ । उनीहरुको अस्तित्वमाथीनै समस्या सृजना हुन पुग्छ । उनीहरुको सामाजिक पहिचान नै क्षय हुन पुग्छ । यसरी लादिएका कु–संस्कृतीकै कारण ऋण लिएर पनि छोरा/छोरीको बिहेमा सयौँलाई भोज खुवाउनुपर्ने, खेत बेचेरै भएपनि पूर्वज पितृको श्राद्धमा भोज गर्नुपर्ने चलन हाम्रो समाजमा छ । सामाजले भोज भतेर, बुहारीले लिएर आएको दाईजो आदिको आधारमा हैसियत मापन गर्ने गरेको छ ।
आश्चर्यको कुरा, हामीले छोराछोरीलाई कुन सरकारी/नीजि स्कुल पढाउछौं भन्ने कुरालाई पनि सामाजिक हैसियतको आधार बनाइएको छ । मध्यम वर्गीयहरुको मनमा हिनताबोध भइरहेको हुन्छ, कि आफ्नो सन्तानलाई नीजि विद्यालय पढाउन सकिन भनेर । फेरि छोराछोरीलाई नीजि विद्यालयमा पढाउनेको रवाफै बेग्लै हुने । परिवारका सद्स्य बिरामी हुँदा कुन अस्पतालमा जचाउँन जान्छौं, त्यो पनि सामजिक सम्पन्नताको सूचक हो । यदि घरको वृद्धवृद्धालाई आर्थिक अभावका कारण सरकारी अस्पतालमा उपचार गराउनुभयो भने फेरी तपाईको सामाजिक हैसियतमा समाजले फुलबुट्टा थपिदिन्छ ।
धनिहरुले आफ्ना सन्तानलाई सरकारी स्कुल पढाउनै छोडेका छन् । फेरि, छात्रबृतिको लागि सर्टिफिकेट सरकारीकै राख्ने गर्छन् । आफन्त बिरामी हुँदा सरकारी अस्पतालमा जचाउँनै छोडेका छ्न्। यस्ता कारणहरुले पनि सरकारी स्कुल र अस्पतालहरुको स्तर खस्किरहेको छ । सरकारी स्कुल भनौँ या अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह नहुँदा गरिव तथा मध्यम वर्गीय परिवार पनि नीजि विद्यालय र अस्पतालमा चर्को मुल्य तिरेर भए पनि सेवा लिन बाध्य छन् । उनिहरुले आर्जन गरेको पैसाको अधिकांश प्रतिशत यसरी नै खर्च हुने गरेको छ ।
निशुल्क शिक्षा, निशुल्क स्वास्थ उपचार राज्यको दायित्वभित्र पर्ने कुरा हो । यो राजनीतिक मुद्धा पनि हो । यसको कार्यान्वयन राजनीतिक पहलबाटै संभव छ । तर, यहाँ त यी सबै कुरा नारामा मात्रै सीमित बनेको छ । चुनावी घोषणा पत्रलाई आकर्षक बनाउनको लागि बनाइएको बेहुली भित्र्याउन सजाइएको भाडाको सवारी जस्तै । समाज संचालनको मुख्यः आयाम हो, राजनीति। राजनीतिले दबिएको आवाजलाई उठाउछ । पहुँच बिना समस्या निराकरण हुँदैन ।
विभिन्न समयमा राजनीतिले गरेको सामाजिक परिवर्तनलाई लिन सकिन्छ, चाहे त्यो सति प्रथा होस्, कमैया प्रथा वा हलिया प्रथा । मध्यम वर्गीय परिवारलाई घर चलाउँदै फुर्सद हुँदैन। उनिहरुको लागि राजनीति पहिलो, दोस्रो प्राथमिकतामा पनि पर्दैन । उनिहरुलाई चुनावमा भोट हाल्नेसंग मात्र मतलव हुन्छ । यी वर्ग राजनीतिक दलको भोटर बैंकको रुपमा मात्र सिमीत भइरहेका छन् । चुनाव लाग्दा भोटका लागि देखाइएका विभिन्न प्रलोभनका सिकार हुने गरेका छन् । तर, चुनाव पछी समस्या उस्तै ।
यी समस्यासंग संधर्ष गरिरहेको दाम्प्तयले आफ्नो पहिचान ती सामाजको सायामा खोजिरहेको हुन्छ। अनि यावत समस्याको सामाधानको मात्र एक केन्द्र सन्तान । जानी नजानी उनीहरुको महत्वकांक्षा सन्तानप्रति बढिरहेको हुन्छ । सन्तानले यी सबै समस्या समाधान गर्छन् भन्ने बुझाई छ । एउटा हिन्दी सिनेमाको गीत छ नि ‘पापा केह्ते हे बडा नाम करेगा बेटा हमारा ऎसा काम करेगा’। लेखको शुरुवातमै भनेको छु ‘मध्यम वर्गीय परिवार जसको आफ्नै विशेषता हुन्छ ।
केही यस्ता हुने गर्छन् । उनीहरु ओभर प्रोटेक्टिभ हुने गर्छन् । आफु गर्मीमा पंखा बिना सुत्छन् । सन्तानको कोठामा पंखा लगाउछन् । आफु बिरामी हुँदा जचाउँन आलटाल गर्छन् । सन्तान बिरामी हुँदा तुरन्तै अस्पताल दौड्छन् । आफु एकछाक भोकै बसे पनि सन्तानलाई खाना खुवाउँछन् । सन्तान अलि चाँडै ठूलो होस् भन्ने आश गरिरहेका हुन्छन् । छिट्टो ठुलो भयो भने छिट्टै आर्जन गर्न थाल्छन् भनेर। आर्जन भनेको शिक्षा, पैसा, आफुले कमाउन नसकेको तर केही कथित भलादमीले निर्धारण गरेको सामजिक हैसियत हो । आफु सामाजमा कथित तल्लो स्तरिय काम गर्छन् । सन्तानलाई माथिल्लो स्तरमा पुगोस् भन्ने महत्वकांक्षा राख्छन् । यस्तो परिवारमा सधैं लुगा कपडा किन्ने चलन हुदैन। यसको लागि दशैं, ईद, वा घरमा कसैको बिहे कुर्नु पर्ने हुन्छ । कपडा किन्दा आफ्नो साईज भन्दा कम्तिमा एक साईज ठुलो किनिदिने गरिन्छ । किनकी अलि उचाई, मोटाई बढ्दा पनि प्रयोग आयोस् भन्ने उद्देश्य राखिएको हुन्छ । सन्तानले आमाबुबाको अगाडि हुँदैन भन्ने चलन हुँदैन । कपडाको साईजमा मात्रै होईन, मध्यम वर्गीय परिवारमा सन्तानको स्कुल, करियर र बिहे पनि आमबुबाले निर्धारण गर्ने गरेका हुन्छन् । यस्तो सोचाई उनीहरुको भोगाइबाट आएको हुन्छ । यसको यो अर्थ नलागोस् कि आमाबुवा निरंकुश हुन्छन् । उनिहरुलाई डर हुन्छ। उसको सन्तानलाई कसैले गलत मार्गनिर्देश नगरोस् । उनिहरुले देखेका हुन्छ्न्, सामाजिक हैसियत बढी भएकाको छोराछोरीले कुन करियर अंगालेका छन्, कस्तो खान्दानमा बिहे गरेका छन् भनेर । सामाजमा पैसा मात्र होइन पेशा अनुसारको पनि हैसियत तोकिएको हुन्छ । यसर्थ आफुले भोगेको अपहेलना मेरो सन्तानले नभोगोस् भनेर सचेत हुने गर्दछन् । आफुले सामाजमा नपाएको स्थानमा मेरो सन्तानले प्राप्त गरोस् भन्ने चाहन्छ्न् । भनिन्छ पनि कि तपाईलाई आफु भन्दा पनि माथी स्थानमा देख्ने कोही हुन्छन् भने त्यो केवल तपाईको आमाबुबा हो ।
राजिव झा, लक्ष्मिनिया गाउँपालिका वडा नम्वर ७ धनुषा, नेपाल