मकवानपुरमा करिब ३ लाख मतदाता

तु खबर संवाददाता
२०७८ माघ २८,शुक्रबार ११:३४
file-photo

मकवानपुर । सरकारले स्थानीय तह निर्वाचको मिति घोषणा गरेसँगै मतदाता नामावली संकलनको कार्य रोकिएको छ । उक्त दिनसम्ममा मकवानपुरमा १ लाख ५२ हजार पुरुष र १ लाख ४५ हजार ५ सय महिला गरी कूल २ लाख ९७ हजार ५ सयले मतदाता नामावलीमा आफ्नो नाम समावेश गराएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।

निर्वाचन कार्यालयले अहिले मतदाता नामावलीमा नाम समावेश गराएकाहरुबाट मतदान गर्न योग्य मतदाताको एकिन तथ्याङ्क निकाल्ने कार्य भइरहेको जनाएको छ । मतदाता नामावलीमा १६ वर्षमाथिकाले आफ्नो नाम दर्ता गराउन पाउने प्रावधान रहेको भएपनि मतदान भने १८ वर्षमाथिकाले मात्रै गर्न पाउने छन् । सोही अनुसार मतदान केन्द्र अनुसार नामावली छुट्याउने कार्य भइरहेको हो ।

कार्यालयका अनुसार १८ वर्षमाथिका मतदान गर्न योग्यहरुको नामावली तयार पार्ने काम भइरहेको छ । केही दिनभित्रै मतदाताको एकिन तथ्याङ्क निकाली आयोगको केन्द्रीय कार्यालयमा पठाउने तयारी भइरहेको छ । मकवानपुरमा बसाई सरी आएकाहरुको नामावली सार्ने काम समेत कार्यालयले गरिरहेको छ । करिब ९ हजार मानिस बसाईं सरेर मकवानपुर भित्रिएको र उनीहरुले आफ्नो नामावली यहाँ सारेको प्रारम्भिक अनुमान कार्यालयले गरेको छ ।

अघिल्लो स्थानीय तह (२०७४) निर्वाचनमा २ लाख ५५ हजार ६०० मतदाता रहेका थिए । २०७७ सम्मको तथ्याङ्कमा मकवानपुरमा मतदान गर्न योग्य मतदाताको संख्या २ लाख ७२ हजार ४७३ रहेको थियो । निर्वाचन कार्यालयले २÷४ दिन भित्रै आसन्न निर्वाचनमा मतदान गर्न योग्य मकवानपुरको कूल मतदाताको संख्या सार्वजनिक गर्ने तयारी गरेको छ ।