गायक तथा साहित्यकार आचार्यको घाम त झुल्क्यो डाँडामा सार्वजनिक
मकवानपुर । साहित्यकार एवम् गायक पुरुषोत्तम आचार्यको शब्द संगीत तथा स्वरमा रहेको ‘घाम त झुल्क्यो डाँडामा’ नामक गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । आइतबार आचार्यको एकल गायन साँझमा सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
मिना श्रेष्ठ प्रोडोक्सन म्यानेजर रहेको म्यूजिक भिडियोमा बाबु थिङको निर्देशन रहेको छ । भिडियोलाई मिलन श्रेष्ठले छायाँकन, सुन्दर लामाले मिक्सिङ तथा महेन्द्र ओझाले सम्पादन गरेका हुन् । भिडियोमा आइपी आचार्य, लेखत लुइँटेल र बाल कलाकार अपूर्व आचार्यको अभिनय रहेको छ ।
क्रान्तिकारी विचारमा आधारित उक्त गीतमार्फत् मुलुकमा विभिन्न समयमा फेरिएको व्यवस्थाले जनताको अवस्थामा परिवर्तन ल्याउन नसकेकोप्रति ब्याख्या र ब्यङ्ग्य गरिएको छ । गीतले व्यवस्थामा भएको परिवर्तन जनताले अनुभूति गर्ने खालको नभएको सन्देश प्रवाह गरेको छ । आचार्यले गायन साँझमा ‘हामी त भयौं दुखिया, बाटो फेर्न हिँडेको साँइला, यो बिहान तिम्रै हो उठ उठ हे युवा र जाग जाग जाग जाग’ बोलको गीतहरु गाएर सुनाएका थिए ।
सुदर्शन फाउन्डेशन, सर्जक सञ्जाल, जागरण मिडिया र एन.एस टेलिभिजनको सहयोगमा आयोजित उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा.तारालाल श्रेष्ठले समाजशास्त्रीय र गायिका सुशिला मानन्धरले सांगितिक दृष्टिकोणबाट गीतमाथि समिक्षा गरेका थिए ।