एमाले मकवानपुरका सदस्यहरुले लिए पद र गोपनियताको सपथ

तु खबर संवाददाता
२०७८ फाल्गुन २,सोमबार १६:२३

मकवानपुर । नेकपा एमालेको गएको पुस २३–२४ गते हेटौँडामा सम्पन्न ११ औँ जिल्ला अधिवेशनबाट चुनिएका जिल्ला सदस्यहरुको आज सपथग्रहण भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण रोकिएको सपथ ग्रहण करिब डेढ महिना पछि आज भएको हो ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उप–सचिव (दुई) सहित १ सय ५ सदस्यीय जिल्ला कमिटि चुनेको थियो । तर, कोरोना संक्रमणको जोखिमका कारण सपथग्रहण रोकिएको थियो । गत माघ ११ गते जिल्ला पार्टीको कामलाई सहज बनाउने भन्दै पदाधिकारी सहित अधिवेशनमा पदाधिकारीबाट आफ्नो उम्मेद्वारी फिर्ता लिएकाहरुको सपथग्रहण गरिएको थियो ।

आज बाँकी सदस्यहरुले पद र गोपनियताको सपथ लिएका हुन् ।  कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य भारती पाठक, एमाले बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेल लगायतका नेताहरुको उपस्थिती रहेको थियो । सपथग्रहणलगत्तै अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षमा पहिलो बैठक सुरु भएको छ ।