केपी ओलीमाथि कारवाहीको माग गर्दै अख्तियारमा उजुरी

तु खबर संवाददाता
२०७८ फाल्गुन ५,बिहीबार १३:३९
file-photo

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि कारवाहीको माग गर्दै नेकपा एकीकृत समाजवादी पार्टीको भागृ संगठन अनेरास्ववियुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी दिएको छ । विहिबार आयोगको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानविनको माग गरेको हो ।

अनेरास्ववियुको तर्फबाट बागमती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरित उजुरीमा झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दी भन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको उल्लेख गरिएको छ । सो प्रकरणमा तत्कालीन भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललगायतलाई पनि कारबाहीको माग गरिएको छ ।

यस्तै स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन रक्षामन्त्री इश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि ओम्नीसँगको अनियमितता प्रकरणमा मुछिएकाले निजहरुमाथि छानविन गरी भ्रष्टाचारमा कारबाही गर्न माग गरिएको छ । यस्तै भिजिट नेपाल २०२० को नाममा राज्यकोषको करोडौं रकम हिनामिना भएको भन्दै तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईमाथि पनि छानबिनको माग गरिएको छ ।