इन्द्र बानियाँले अपाङ्ग बनाएको कम्युनिष्टलाई प्यारालाइसिस बनाउँछु – लामिछाने
मकवानपुर । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले मकवानपुरसहित बाँकी जिल्लाहरुको अधिवेशन आउँदो फागुन १६ गते गर्ने गरी तयारी गरेको छ । मकवानपुरमा कार्यबाहक सभापति विष्णु लामिछानेसहित ५ जनाले सभापति पदमा आकाँक्षा व्यक्त गरेका छन् । सरकारले स्थानीय तहको निर्वाचनको मिति पनि घोषणा गरिसकेको अवस्था छ । स्थानीय तह निर्वाचन अघि पार्टीको अधिवेशन गर्दा मत विभाजित हुने डर कांग्रेसमा देखिएको छ ।
मकवानपुरका सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, सल्लाहकार जयराम लामिछाने र नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्री प्रभातकुमार दाहाल सभापतिमा आकाँक्षीको रुपमा देखिएका छन् । कांग्रेस मकवानपुरको राजनीतिमा निर्णायक एवम् अभिभावकीय जिम्मेवारीको रुपमा रहेका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीनाले हालसम्म आधिकारिक रुपमा उम्मेदवारको विषयमा धारणा सार्वजनिक गरिसकेका छैनन् । यद्यपी, उपसभापति भइसकेका र हाल कार्यबाहक सभापतिको रुपमा रहेका लामिछानेकै नेतृत्वमा सबै पक्षलाई समेटेर अधिवेशन सम्पन्न गर्ने पक्षमा बानियाँ र डीनाको जोड रहेको बुझिएको छ ।
आसन्न कांग्रेस मकवानपुरको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी कार्यबाहक सभापति लामिछानेको काँधमा आएको छ । स्थानीय निर्वाचन नजिकिँदा चुनौती पनि थपिएको छ । मकवानपुरका पार्टी भित्रकै अन्तरघातका कारण उम्मेदवारहरु झिनो मतले पराजित हुने गरेका छन् । अब त्यो अवस्था आउन नदिन कांग्रेसको रणनीति कस्तो छ ?, जिल्ला अधिवेशन र स्थानीय निर्वाचनमा कांग्रेस कसरी अघि बढ्दैछ आदि विषयमा तु खबरले कार्यबाहक सभापति लामिछानेसँग कुराकानी गरेको छ । प्रस्तुत छ, लामिछानेसँग गरिएको कुराकानीको सम्पादीत अंश ।
तपाईले कांग्रेस मकवानपुरको कार्यबाहक सभापतिको जिम्मेवारी पाउनुभएको छ । पार्टीलाई कसरी अघि बढाउने सोच बनाउनुभएको छ ?
धन्यवाद । म विगत २०३६ सालदेखि अहिलेसम्म पार्टीको संगठन बनाउन निरन्तर लागिरहेको छु । वडा तहको सभापति, नगर सभापति क्षेत्रीय सचिव, जिल्ला सचिव र उपसभापति भइसकेको छु । मकवानपुरका सभापति आदरणीय इन्द्रबहादुर बानियाँज्यू बागमती प्रदेश सभापति हुनुभएपछि मलाई कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालिदिन पार्टीले आग्रह गर्यो । मैले कांग्रेसको गतिविधिलाई अघि बढाउनुको साथै पार्टीलाई जिवन्त बनाउन लागिरहेको छु । २०३६ सालको विद्यार्थी आन्दोलनदेखि ०४६, ०६२/०६३ को जनआन्दोलनमा नेतृत्वको भूमिका निर्वाह गरिरहेको छु । अहिले कार्यबाहक सभापतिको जिम्मेवारी पाएपनि मेरो योजना भनेको यो गुट त्यो गुट नभनी एकपटक मकवानपुरलाई कांग्रेसमय बनाउने नै हो ।
मलाई व्यक्तिगत लाभ लिनु छैन । मेरो एउटै उद्देश्य कांग्रेसलाई जिताउने नै हो । २०३६ सालमा विद्यार्थी आन्दालेन गर्दा मकवानपुरमा पञ्चायत र कम्युनिष्टको बाहुल्यता थियो । मैले त्यसबेला नै मकवानपुरलाई कांग्रेसको किल्ला बनाउँछु भन्ने प्रतिवद्धता जाहेर गरेको थिएँ । सोही अभियानलाई निरन्तरता दिन्छु । म स्व.विपिको विचारमा प्रभावित भएको मान्छे हुँ । उहाँको विचार सिद्धान्त र आदर्शलाई ध्यानमा राखेर अघि बढिरहेको छु् । उहाँले ठूलो मान्छे होइन असल मान्छे बन्नु भनेर भन्नुभएको छ । त्यसलाई मैले ममन गरेको छु । नेपालमा करिब ९० प्रतिशत जनता गरिबिको रेखामुनी छन् उनीहरुलाई दुई छाक टार्न गाह्रो छ । उनीहरुको आङमा एक सरो न्यानो कपडा छैन, विरामी पर्दा उपचार छैन । त्यो वर्गको पनि राजनीतिमा पहुँच पुगोस्, विरामी पर्दा उपचार गराउन सकुन् । सामान्य शिक्षा दिक्षा लिन पाउन् भन्नको लागि हामी राजनीतिमा लागेका हौँ । धेरै कमाउँला, काठमाडौँमा महल बनाउँला, चिल्ला गाडि चढौँला भन्ने चाहानाले हामीेले राजनीति गरेका होइनौँ । यो अवधिमा म मकवानपुरलाई कांग्रेसमय बनाउन लागिपर्छु ।
केन्द्रीय कार्यसम्पादन समितिले फागुन १५ गते मकवानपुरसहित १६ जिल्लाको अधिवेशन गर्ने गरी तयारी गरेको छ । तपाईले चाँही स्थानीय तहको निर्वाचन अघि अधिवेशन गर्न नहुने अडान लिइरहनुभएको छ । के कारणले हो ?
मेरो चाहाना कांग्रेसकै कारणले कांग्रेसले पराजय व्यहोर्नु नपरोस् भन्ने हो । पहिला साथीहरुलाई स्थानीय तह, जिल्ला समन्वय समिति प्रदेश र प्रतिनिधिसभामा सेटल गरौँ अनि आन्तरिक प्रतिस्पर्धा गरौँला भनेको हुँ । मकवानपुरलाई कम्युनिष्टको लाल किल्ला भनेर चिनिन्थ्यो । इन्द्र बानियाँले कम्युनिष्टको लाल किल्लाको २ वटा खुटुटा भाँचेर अपाङ्ग बनाइदिनुभएको छ । अब अर्को दुई वटा खुट्ुटा भाँच्नु छ । त्यो तागत र त्यो साहस भनेको हरेक नेपाली कांग्रेको कार्यकर्तामा होस् भन्ने मेरो धारणा हो । स्थानीय निर्वाचन अघि अधिवेशन गर्दा आन्तरिक विवाद बढ्ने र त्यसले क्षती व्यहोर्नु नपरोस् भन्नको लागि मैले अधिवेशन पछिलाई सारौँ भनेको हुँ । तर, अधिवेशन हुने संभावना बढेर गएकोले सबैलाई समेटेर सहमतिमै गरौँ भन्ने हो । साथीहरुले पनि आकाँक्षा जाहेर गनुर््भएको छ । त्यसमा मेरो सम्मान नै छ ।
उहाँहरु पनि म जतिकै दावेदार र योग्य हुनुहुन्छ । मैँले त्यसमा असहमति जनाउने कुरा नै हुँदैन । योग्य मान्छेले इच्छा जाहेर गर्नु स्वभाविक पनि हो । अहिले मेरो नेतृत्वमा सहमतिको लागि प्रयास भइरहेको छ । हाम्रो जिल्लाले सौभाग्य भनौँ, केन्द्रीय सह–महामन्त्री र बागमती प्रदेश सभापति हाम्रै जिल्लाबाट हुनुहुन्छ । उहाँहरुले अभिभावकीय भूमिका खेल्दै आइरहनुभएको छ । हामी आकाँक्षीहरुलाई पनि संगै राखेर वार्ता लाभ गराउने कार्य गरिरहेका छौँ । मेरो नेतृत्वमा सहमति जुट्नेमा ढुक्क छु । म संसदीय फाँट वा कुनै नियुक्तीमा जाँदिन त्यसकारण मलाई सबैको सहयोग पनि रहन्छ भन्ने लाग्छ ।
अर्को कुरा हाम्रो जिल्लामा कांग्रेस पराजित हुनुको कारण अन्तरघात नै हो । ठूला ठूला कम्युनिष्ट पार्टी मिल्दा पनि उनीहरुसँग उठेका हाम्रो उम्मेदवार झिनो मतले मात्रै पराजित हुनुपरेको अवस्था छ । कारण कांग्रेसले कांग्रेसलाई असहयोग गर्नाले हो । अब, त्यो नहोस् भन्नको लागि स्थानीय निर्वाचनअघि अधिवेशन नहुँदा पनि फरक पर्दैन भनेको हुँ । अहिले पनि पार्टीका पदाधिकारीहरु यथावत नै हुनुहुन्छ । जिल्ला समिति हाम्रो मौजुदा छ । नयाँ साथीहरु पनि निर्वाचित भएर आइसक्नुभएको छ । त्यसकारणले यहाँ अप्ठेरो र थुनछेक गर्नुपर्ने अवस्था छैन । तर निर्वाचन गर्ने कुरा केन्द्रीय कमिटीको हो । फागुनको २०÷२१ सम्ममा अधिवेशन हुन्छ । सहमतिमा नै अधिवेशन सम्पन्न गरेर नमूना जिल्लाको रुपमा हामी प्रस्तुत हुन्छौँ ।
यहाँले पनि सभापति पदमा उम्मेदवारी दावी गरिरहनुभएको छ । यहाँको उम्मेदवारी किन, के–के छन् एजेण्डा ?
मैले अघि पनि भनेँ, यो जिल्लालाई कांग्रेसमय बनाउने मेरो एउटै लक्ष्य हो । एकपटक जिल्लामा जिताऔँ त्यसपछि हामी आन्तरिक प्रतिस्पर्धा गरौँला । मेरो आग्रह सबै साथीहरुलाई यही हो । त्यसकारण मैले सर्वसम्मतको प्रयास गरिरहेको छु । म कसैलाई गुट उपगुटको आधारमा भेदभाग गर्दिन सबैको भावना समेटेर सिङ्गो कांग्रेस बनाउने मेरो प्रतिवद्धता पनि हो । इन्द्र बानियाँले बसालेको जगलाई इट्टा थप्ने काम म र मेरो टिमले गर्नेछ । कांग्रेसको संगठनलाई चुस्त दुरुस्त बनाउँदै मकवानपुरवासीप्रति थप उत्तरदायी भएर कांग्रेसलाई अघि बढाउन मेरो उम्मेदवारी हो ।
तपाईकै नेतृत्वमा सहमति जुट्छ भनेर दावी गरिरहनुभएको छ, जुटेन भने उम्मेदवारी दिनुहुन्छ कि बाहिरै बस्नुहुन्छ ?
म कार्यबाहक सभापति हुँ । मैले मेरोतर्फबाट कांग्रेसलाई जिल्लामा कसरी मजबुद बनाउने, कसरी कांग्रेसलाई जिताउने भन्ने सन्दर्भमा अभिभावकीय भूमिका निर्वाह गरिनैरहेको छु । म भन्दा माथि आदरणीय इन्द्रबहादुर बानियाँ र महालक्ष्मी उपाध्याय डीना हुनुहुन्छ । अझ बढी भूमिका त उहाँहरुको हुन्छ । मैले अघि पनि भनेँ कांग्रेस हार्ने कांग्रेसकै कारणले हो । म त्यो नहोस् भन्नको लागि अधिकतम लचकताका प्रयास गरिरहेको छु । सहमति भएन भने पनि म निर्वाचनमा जान्छु र उक्त प्रक्रियालाई स्वीर्काछु । सहमतिकै प्रदेश सभापति र केन्द्रीय सहमहामन्त्री लागिरहनुभएको छ । आकाँक्षी साथीहरुले पनि विष्णु लामिछानेको हकमा आफुहरु छाड्न तयार भएको सार्वजनिक रुपमा नै बताउँदै आइरहनुभएको छ । सर्वसम्मत हुन्छ ।
जिल्ला अधिवेशनलाई सम्पन्न गर्ने जिम्मेवारी पनि तपाईकै काँधमा छ । मकवानपुरमा गुट– उपगुटको कारण कांग्रेस विभाजित छ । संस्थापन पक्षबाटै धेरै आकाँक्षी देखिएका छन् । कसरी मिलाउनुहुन्छ ?
यो आकाँक्षा राख्नु स्वभाविक हो । पार्टी सभापति बन्ने, मन्त्री,सांसद् बन्ने इच्छा हुनसक्छ । राजनीतिमा लाग्दैमा सबै विपी कोइराला बन्छन् भन्ने होइन । सबै इन्द्र बानियाँ बन्दैनन् । तपाई ढुक्क हुनुस् । यसपाली सर्वसम्मत हुन्छ । सबैलाई समेट्छौँ । हामी संसदीय फाँटमा मिलाउने प्रयास गर्दैछौँ । अन्तिममा लचकताको आधारमा सहमति सहकार्य हुन्छ । तपाईलाई प्रष्ट पारौँ । संस्थापन टिम इतर भनेर चिनिनुभएको जयराम लामिछानेजीले उहाँ आफैँले म शेखर पक्षको उम्मेदवार भन्नुभएको छ । उहाँले पनि मेरो हकमा सार्वजनिक रुपमै आफु ब्याक हुन तयार रहेको बताउनुभएको छ । पहिला गुट–उपगुटको अन्त्य गर्दै पहिला कांग्रेस बलियो हुनुपर्यो । आफैँ कमजोर भएपछि विपक्षीसँग कसरी लड्ने ? यसलापी सिंङ्गो कांग्रेस बन्छ ।
विगतको निर्वाचन हेर्दा कांग्रेस आफैँ भित्र लडेर पराजित भएको देखिन्छ । गुट र उपगुटले त्यो समस्या निम्त्याएको कांग्रेसीहरु नै बताउँछन् । गुट–उपगुटको अन्त्य गर्न तपाईको भूमिका कस्तो हुन्छ ?
मेरो भूमिका मकवानपुरलाई कांग्रेसमय बनाउने हो । म संसदीय फाँटमा जान्न म पार्टीलाई नै मजबुद बनाउँछु भनिरहेको छु । हामी सबल बलियो र प्रतिपक्षलाई परास्त गर्न एक भएर लाग्न मेरो पहल हुनेछ । गुट उपगुटको अन्त्यको लागि सबैलाई समेटेर अघि बढ्छु । म संसदीय फाँटमा जान्न । त्यहाँ साथीहरुलाई अवसर प्रदान गर्छु । उहाँहरुलाई जिताउन पहल गर्छु । स्थानीय तह, जिल्ला समन्वय समिति, प्रदेशसभा र प्रतिनिधिसभामा साथीहरुलाई पठाउँछु । मेरो उद्देश्य इन्द्र बानियाँले अपाङ्ग बनाएको कम्युनिष्टलाई प्यारालाइसिस बनाउने हो ।
सरकारले स्थानीय निर्वाचनको मिति तोकिसकेको अवस्था छ, मकवानपुरमा कांग्रेस कसरी अघि बढ्छ ?
अब यस्तो छ, गठबन्धन नगरी प्रतिस्पर्धा गर्न सकिन्छ भने एक्लै लड्ने, सकिँदैन भन्ने भयो भने गठबन्धन गरेर अघि बढ्ने कुरा हुन्छ । केन्द्र सरकारको भूमिका कस्तो हुन्छ, निर्वाचनसम्म गठबन्धन रहन्छ कि रहँदैन यी सबै कुराले हाम्रो यात्रा तय गर्छ । मकवानपुरको कतिपय स्थानमा गठबन्धन गरेरै अघि बढ्नुपर्ने देख्छु । यो केन्द्रको पोलेसिमा पनि भर पर्ने कुरा हो ।
हेटौंडाकै कुरा गरौँ न, हाम्रो उम्मेदवार झिनो मतले पराजित हुनुभयो । धेरै म तबदर भयो, झिनो मतले पराजित हुनुभयो । यसमा मतदाता शिक्षाको अभाव पनि प्रमुख समस्याको रुपमा देखियो । टिकट टुङ्ग्याउन ढिलो भएकाले पनि हो । अब कांग्रेसले रोइलो गर्ने वातावरण नहोस् भन्ने मेरो चाहाना हो । हाम्रा नेताहरुले पनि मेयर, सांसद् मन्त्री सबै म हुनुपर्छ भन्ने भावना चाँही राख्नुहुँदैन । हामीबाट पनि केही कमजोरी भएका छन् । आगामी दिनमा त्यसलाई सच्याएर अघि बढ्छौँ ।
अन्तमा के भन्न चाहानुहुन्छ ?
२०३६ सालको आन्दोलन चलाएर नेवि संघको संस्थापक अध्यक्ष भएँ । पार्टीको विभिन्न तहमा काम गर्दै यहाँसम्म आएको छु । अहिलेसम्म संसदीय फाँट र सुविधाको राजनीतिक नियुक्ती पनि लिएको छैन । अझै पनि म के भन्छु भने पहिला कांग्रेसलाई यो जिल्लामा जिताऔँ न बाबा अनि छलफल गरौँला । त्यसको लागि मै सभापति हुन्छु, मै मेयर बन्छु मै सांसद् बन्छु त मैले भनेको छैन नी । त्यसकारण मेरो कुरामा साथीहरुको सहमति हुन्छ भन्ने मेरो विश्वास हो । त्यसको लागि केन्द्रीय सह–महामन्त्री र प्रदेश सभापतिको अभिभावकीय भूमिका हुन्छ । उहाँहरु लागिरहनुभएको छ । म आफैँ पनि लागिरहेको छु । संस्थापन टिममा छलफल भइसक्यो । जयराजजीले पनि मलाई सहयोग गर्नेमा विश्वस्त छु । पत्रकार साथीहरुले पनि यो समाचार सम्प्रेषण गरिदिनुस् कि ५ बर्षसम्म रोइलो गाएर कांग्रेसले जितेको भए हुन्थ्यो भनेर भन्ने दिन फेरी नआओस् । बेलामा बुद्धि पुर्याऔँ ।
आम नेपाली कांग्रेसका कार्यकर्ता तथा मतदाताहरुलाई पनि चुनाव नहुन्जेल इच्छा आँकाक्षा जाहेर गरौँ भन्छु । उम्मेदवार छनौट भइसकेपछि कांग्रेसले कांग्रेसलाई हराउने काम नगरौँ । अवसर फेरी पनि आउँछ हतारमा निर्णय नगरौँ भन्न चाहान्छु । मेरा भावनाहरु राख्ने अवसर यहाँको मिडियामार्फत् पाएँ त्यसको लागि आभार व्यक्त गर्दछु । धन्यवाद, जयनेपाल ।