एमालेले संसदमा अवरोध जारी राख्ने, एमसीसीको विषयमा तत्कालै धारणा नबनाउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभामा टेबुल भएको एमसीसी पास वा फेल गर्ने सम्बन्धमा तत्काल कुनै धारणा नबनाउने जनाएको छ । एमालेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आज संचारकर्मीहरुसँग एमसीसी पहिले नै संसदमा टेबुल गर्नुपर्नेमा ढिलाएको पनि बताए । ढिला गरी टेबुल गरिएको भएपनि गठबन्धन सरकारले राष्ट्रिय सहमति जुटाउन नसकेको भन्दै एमालेले टिप्पणी गरेको छ । एमालेले संसदमा आफूहरूले उठाएका माग सम्बोधन नभएसम्म अवरोध जारी रहने तथा एमसिसीबारे अहिले कुनै धारणा नबनाउने एमालेको निश्कर्ष छ ।
एमालेले उठाइरहेको मागबारे आफुनो धारणा राख्न पाएपछि मात्रै एमसीसीबारे धारणा बनाउने बताएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता अनुमोदनका लागि टेबुल गरेका छन् । फागुन १२ गते बस्ने प्रतिनिधि सभाको अर्को बैठकमा एमसिसीबारे छलफल हुनेछ ।
संसद् बैठकअघि भएको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबुल गर्न सहमति जनाएको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संसद्मा भने अवरोध गरेका थिए । दुवै दलले आफुहरु एमसीसीको विपक्षमा रहेको बताएका छन् । नेपाली कांग्रेसले भने एमसीसी पास गर्ने सन्दर्भमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरिसकेको छ ।